पुस २२ इलाम । चार वर्षअघि माओवादीको गाउँ इकाई समिति र वाईसिएलले झण्डा गाडेर कब्जा गरेको इलामको फिक्कलस्थित हिमालयन रेन्ज चिया उद्योग प्रालिको चिया बगान अझै फुकुवा भएको छैन । कब्जापछि सो चिया बगान कसैले पनि उपभोग नगरेकाले चिया बगानमा चियाका बोटहरु हुर्किएका छन् ।
जग्गाधनी हिमालय रेञ्ज चिया उद्योगले तत्काल जग्गा फुकुवा गरिदिन माओवादीसँग आग्रह गरेको छ । यसैगरी वगानले जग्गा फुकुवाका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत दर्ता गराएको छ ।
माओवादीले २०६४ असोज १८ गते सुचना जारी गरेर कित्ता नं. ३४, ३५, १३८, १४० र १७१ करिब ८८ रोपनी चिया बगान उद्योगलाई भोगचलन नगर्न चेतावनी दिएको थियो । माओवादीले फिक्कल गाविस कार्यालयले किर्ते गरेर अपुताली जग्गामा नक्कली हकवाला बनाई रामकुमार राठीलाई बेचेको आरोप लगाएको छ ।
त्यतिबेला जारी गरिएको सुचनमा किर्ते गरेको आरोप तत्कालीन गाविस अध्यक्ष हेम फागो, उपाध्यक्ष हुकुम चाम्लिङ्ग र मोहन श्रेष्ठलाई लगाइएको थियो ।