भद्रपुर, २३ माघ । भmापामा चारजनालाई ठूलो परिमाणमा लागुपदार्थ गाँजासहित पक्राउ गरिएको छ ।
मेचीनगरपालिकाको विभिन्न ठाउँबाट छापामारी विशेष सुराकीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पाँचवटा पोकामा ७५ किलो गाँजासहित उनीहरूलाई आइतबार जिल्ला प्रहरीले पत्रकारसम्मेलन गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा मेचीनगरपालिका– १३ बस्ने २७ वर्षीय सुशीलकुमार बाँतर, चौधरी, ३२ वर्षीय दन्डेस चौंधरी, वडा नं –९ बस्ने २९ वर्षीय रोशन निरौला र २२ वर्षीय राजकुमार किसान रहेका छन् ।
राजकुमार किसानको करेसाबारीमा माटोमुनि खाल्डोमा लुकाइराखेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरी उपरीक्षक तारणीप्रसाद लम्सालले जानकारी गराउनुभयो ।
क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएका विशेष टोली र अञ्चल प्रहरी कार्यालयको विशेष टोलीका साथै इलाका प्रहरी कार्यालय काँकडभिट्टा प्रहरीको संयुक्त प्रयासमा उनीहरूलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।
नेपालको विभिन्न ठाउँबाट गाँजा सङ्कलन गरेर भारत निकासी गर्ने उद्देश्यले राखेको बताइएको छ ।