
Tito Satya, 5th January 2012 : तितो सत्य, ताजा अपडेट
|
|
|||
Categories
ArchivesFollowers |
पुस २१ भद्रपुर । जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री राजेन्द्र महतोले मुलुकभरिका स्वास्थ्यकेन्द्रमा हजारभन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी खाली रहेकाले ऐन संशोधन गरी विज्ञापन गरिने बताउनुभएको छ । भद्रपुरस्थित मेची अञ्चल अस्पतालको आज स्थलगत निरीक्षण गरेपछि उहाँले सोको जानकारी दिनुभएको हो । तीन वर्षदेखि स्वास्थ्यकर्मीका लागि विज्ञापन नभएको बताउँदै मन्त्री महतोले समावेशी ऐन बनाएर विज्ञापन गरिने प्रस्ट पार्नुभयो । सो अवसरमा मेची अञ्चल अस्पतालका निमित्त प्रमुख टङ्कप्रसाद बाराकोटीले ५० शैय्याको सो अस्पताललाई १५० शैय्याको बनाउन दुई वर्षअघि सैद्धान्तिक सहमति भइसके पनि कार्यान्वयन नभएकोतर्पm मन्त्री महतोको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले डेढ वर्षदेखि अस्पताल प्रमुख, जनरल सर्जन, नाक, कान, घाँटीका विशेषज्ञ, एनेस्थेटिस्टा, प्याथोलिजिस्ट, अर्थाेपेडिक्सलगायत नौजना विशेषज्ञको दरबन्दी खाली रहेको, अस्पतालका उपकरणहरू र भवन पनि पुरानो भइसकेको बताउनुभएको थियो । यसैबीच, मन्त्री महतोले आजै झापाको खजुरगाछी–८मा निर्माण हुने प्राथमिक स्वास्थ्य केन्द्रको शिलान्यास गर्नुभयो । छ बिघा जग्गामा रु चार करोड ५० लाखको लागतमा केन्द्रको १८ कोठे भवन निर्माण गरिनेछ । उक्त जग्गा स्थानीय भीमप्रसाद चौंधरी (राजवंशी)ले प्राथमिक स्वास्थ्य केन्द्रका लागि दान गर्नुभएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अधिकृत महेन्द्र चौंधरीले जानकारी गराउनुभयो । सो अवसरमा मन्त्री महतोले तोकिएको समयमै संविधान निर्माण हुने बताउनुभयो । उहाँले अङ्गीकृत नागरिकता लिएका व्यक्तिको सन्तानका लागि पनि नागरिकताको व्यवस्था हुने बताउनुभयो ।
पुस २१ इलाम । अर्ग्यानिक बाली उत्पादनका लागि इलामको सुलुबुङ्गका कृषकले जैबिक मल बनाउन थालेका छन् । उत्पादित मल आफ्नो खेतीमा लगाउन र विक्री गरेर पनि राम्रो आम्दानी हुन थालेको किसानहरुले बताएका छन् । केही बर्षयता स्थानीय क्षेत्रमा पाइने बिभिन्न ६० प्रजातिका बनस्पतिबाट आफूले मल बनाउने गरेको सुलुबुङ्ग ५ का मेघनाथ खतिवडाले बताउनुभयो । खतिवडा एक्लैले बर्षमा ६० क्विन्टल मल बनाउने गरेको र अधिकांश किसानले पछिल्लो समयमा अर्ग्यानिक मल उत्पादन गरिरहेको उहाँले जानकारी दिनुभएको छ । यसरी बनाएको जैबिक मल २५ रुपैयाँ प्रतिकिलोका दरले बिक्री हुने गरेको छ । मल बिक्रीबाट मात्रै बार्षिक रुपमा एक लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी लिने गरेको किसानहरुले बताएका छन् । घरैमा राम्रो मल बनाउन थालेपछि रासायनिक मल तथा बिषादी प्रयोग गर्न छाडेको अर्का किसान नारायण खतिवडाले बताउनुभयो । त्यस क्षेत्रका किसानले चिया, किबी तथा अन्य तरकारी खेती गर्दै आएका छन् ।
क्वालालम्पुर, पुस २१ - मलेसियास्थित नेपाली दूतावासमा विविध सेवा लिन आउने नेपालीको चाप बढेको छ । अवैध आप्रवासी कामदारलाई मलेसियाले वैध हुन दिएको समयसीमा सकिनै लागेकाले दूतावासमा राहदानी र घर र्फकन ट्राभल डकुमेन्ट लिन आउने नेपालीको चाप बढेको हो । मलेसियाले यही जनवरी १० भित्र वैध बन्न समयसीमा तोकेकाले वैध बन्न चाहिने राहदानी र घर र्फकन चाहिने ट्राभल डकुमेन्ट लिन आउने नेपालीको चाप निकै बढेको दूतावासका उपनियोग प्रमुख लेखनाथ भट्टराईले बताए । चाप बढेपछि दूतावासले मलेसियास्थित कार्यालय अवस्थित भवनको भुइँतलामा रहेको एक ठूलो हल भाडामा लिई सेवा दिन थालेको छ । करिब तीन सय जना अटाउने क्षमता भएको हलबाट वैधता कार्यक्रममा भाग लिएका अवैध नेपाली र आममाफी कार्यक्रमअनुरूप घर र्फकन चाहनेहरूका लागि एकैसाथ सेवा दिन थालिएको हो । वैध बन्ने समयसीमा सकिनै लाग्दा दूतावासको कार्यालय रहेको आम्पाङस्थित 'विस्मा-एमसिए' भवनको तेह्रौं तलामा दैनिक सयौं नेपालीको ओइरो लाग्ने गरेको छ । मलेसियास्थित टाढा-टाढाका सहरदेखि नेपाली निकै हतारो गर्दै दूतावास आउने गरेका छन् । पछिल्ला दिनमा दूतावास आउने नेपालीको चाप बढेकाले दूतावासका कर्मचारीलाई समेत भ्याइनभ्याई छ । 'पछिल्ला दिनमा वैध हुने समयसीमा सकिन लागेकाले राहदानी र ट्राभल डकुमेन्ट लिन आउने नेपाली बढेका छन् । हामीलाई भ्याइनभ्याई छ । सक्दो खटिरहेका छौं,' उपनियोग प्रमुख भट्टराईले भने, 'सबैलाई छिटोछरितो सेवा दिनका लागि भुइँतलामा एउटा हल भाडा लिएर काम थालेका छौं ।' भट्टराईका अनुसार कार्यालयको हलमा मात्रै सेवाग्राही नअटाउने र सेवा दिन अप्ठ्यारो परेकाले हल भाडामा लिइएको हो । दैनिक २ सयभन्दा बढीको संख्यामा अवैध रूपमा यहाँ रहेका नेपालीहरू आउने गरेका छन् । राजदूतसहित विभिन्न तहका गरी १० जना कर्मचारी कार्यरत रहेको दूतावासले हाल यी सबै काम एकैसाथ गर्नुपरेकाले पनि भ्याइनभ्याई भएको हो । वैध हुने समयसीमा सकिन अब सार्वजनिक बिदाका दिनबाहेक ४ दिनमात्रै बाँकी छ । उक्त म्याद पुनः थप्ने या नथप्ने भन्नेबारे हालसम्म केही बताइएको छैन । अवैध सबै नेपाली वैध बन्न राहदानी आवश्यक पर्छ । त्यसैले वैध भई काम गर्न इच्छुक सबै अवैध नेपालीले हाल आ-आफूलाई रोजगारी दिने जिम्मा लिएका कम्पनी मालिकसमेतलाई लिएर दूतावास आउने गरेका छन् । दूतावासले वैधताबारे रोजगारदाता र कामदार दुवैलाई छोटो अन्तर्वार्तासमेत लिई राहदानी उपलब्ध गराउँदै आएको छ । वैधता कार्यक्रमको मौका छोप्दै कतिपयले नक्कली कागजात पेस गर्न सक्ने भएकाले त्यसप्रति सजक हुँदै अन्तर्वार्तालगायत प्रक्रिया अपनाइएको स्रोतको भनाइ छ । हाल वैध बन्नेका लागि दूतावासले गत डिसेम्बर १८ देखि बढीमा डेढ वर्षका लागि भन्दै अस्थायी रूपमा हस्तलिखित राहदानी वितरण गर्दै आएको छ । डेढ वर्षपछि एमआरपीमा परिणत गर्ने गरी जारी गरिएको राहदानीको शुल्क १ सय ६० रिंगेट तोकिएको छ । ३ हजार ८ सय नेपाली फर्किए क्वालालम्पुर- मलेसियामा जारी आममाफी कार्यक्रमको उपयोग गरी मंगलबारसम्म ३ हजार ८ सय २९ नेपाली घर फर्किएका छन् । समाचारसंस्था बर्नामाका अनुसार गत अक्टोबर १० देखियताको समयमा आममाफी पाएका ती नेपालीहरू घर फर्किएका हुन् । त्यसअघिको प्रक्रियामा करीब ३३ हजार अवैध नेपाली दर्ता भएका थिए । दूतावासका अनुसार तीमध्ये करिब ७ हजारले घर र्फकनका लागि ट्राभल डकुमेन्ट लिइसकेका छन् । आममाफी कार्यक्रमअन्तर्गत हालसम्म नेपालीसहित ७३ हजार ६ सय ७४ अवैध आप्रवासीलाई आममाफी दिइएको जनाइएको छ । |
Top 10 Posts
|
|
|
Copyright © 2008 KHARBANDI - All Rights Reserved |
|||