आजकल स्वामीजीलार्इ सञ्चो छैन । मीठो–मसिनो खानु हुँदैन । धेरै बेर बोल्नु पनि हुँदैन । यतिसम्म की स्वामीजी स्नान गर्न पनि सक्नु हुन्न हिड्डुल गर्न त परै जाऒस खाटमा बस्न पनि सक्नुहुन्न । सेविकाले कुटुम्बलाई बताई । कुटम्बहरु एकहोरो पाराले हेरिरहेका थिए ।
स्वामीजी श्री प्रमप्रणयचार्यज्यु प्रख्यात पण्डित लोकाचारम बढी बिश्वास् गर्ने स्वामी श्री वैष्णवका अनुयायी आज अस्वस्थ हुनुहुन्छ । चार जना छोरीका बाबु र एक जना पत्निका धनी प्रमणचार्यज्यु एक प्रख्यात पुरान वाचक हुन् ।यतिखेर उवा अस्वस्थ हुनुहुन्छ, पुराण वाचन गर्न सक्नुहुन्न, यजमानहरु चिन्तित छन ।
सेविका,बुढी कुमारी कन्या,राम्रो अनुहार नपरेकी,असौदिली,बाबु आमाले उमेरमा नै केटो खोजेर घरजम बसाइदिन खोजेका थिए तर जती केटाहरु हेर्न आए पनि सेविकाले मन पराईन ।यतिसम्मकी नाम चलेका पण्डित र ज्योतिसिका कुमार केटा पनि उसलाई मन परेन ।
श्री प्रमप्रणयचार्य ज्युकी चेली बनेकी हो अर्थात सेविका पनि श्री वैष्णवकै अनुयायी हो । आचरणमा बढी ध्यान दिन्छे सेविका । किनकी “स्वामिजिलाई आचार भङ्ग गरेको मन पर्दैन । यो त धर्म विपरीत हो धर्म त्याग गर्नु महपाप हो ।“
स्वामिकी श्रीमती,एउटी सोझी व्राहमणकी छोरी । दम्पत्य जीवनका प्रारम्भका दिनहरुमा स्वामिजीले हेला गरे पनि अचेल स्वामी प्रेमपर्णचार्य ज्यु कि धर्म पत्नी , सबैले श्रद्धा गर्छन् । घरमा सेविका आएकिले घरधन्दामा दु:ख छैन मात्र स्वामीजी अस्वस्थ होइबक्सन्छ । यजमानहरु अर्कैका भैसके यो मात्र चिन्ताको बिषय हो ।
छोरीहरु अंग्रेजी स्कुल पढेर तीन जना कलेज पढ्दैछन । कान्छी छोरी बाह्र बर्षकी भई । जेठी छोरी रमाले स्नातक पास गरी । सम्पन्न खान्दानमा हुर्केका छोरीहरु बाल्यकालमा स्वामीजीको आचरण्तमा नियमबद्ध भएर बसे पनि आज यो कार्य ज्यादै झन्झटिलो र परम्परावादी जस्तो लाग्छ । विश्व एक्काइसौं शताब्दीमा पुगिसक्यो,हाम्रा बा आचार विचारमा नै छन । बाँच्न त मान्छेको ईच्छा अनुसार पाउनु पर्छ ।
एउटा पण्डितले भन्यो "यो त साह्रै दु:खको कुरो हो । तर कुटुम्ब आउने को हो । छोरीहरु विवाह गर्ने बेला भएको छ । भन्छन बगेको खोला र छोरीको जिबन पर्खदैन । छोराहरुको त उमेर केही पर पुगे पनि चल्छ । कुरा राम्रो खान्दान्को हो ।" सेविकाले भनी "हो हाम्रा छोरीहरु आचारमा बद्ध छन । हामी पनि वैष्नवलाई नै छोरी दिन खोज्दैछौं । स्वामीजी पनि यही नै मान्नु हुन्छ ।" अर्कोले भन्यो "हाम्रा कुमार शास्त्री हुन् अझ एस एल सी सम्म स्कुल पढे । भर्खर पुराण पनि भने, राम्रो जोडी हुन्छ ।"
स्वामिजी आए; लामो दाह्री पालेका; कपाल पालेका; ज्यादै मोटा छन । स्वामीकी श्रीमती पनि आई । कुटुम्बहरु उठे र धोग गरे । स्वामीले भने "छोरीहरु बढे, कन्यादान दिनु सबैभन्दा ठुलो दान हो । लोकोक्ती पनि मान्नै पर्छ ।""हामीले बुझेका छौ, हाम्रा कुमार शास्त्री हो,एक्लो छोरो । स्वामीले भने "दुबैको जोडी मिल्छ, रमा आचारबद्ध छे । मेरी छोरी हो ।"
कुटुम्बहरू गए । घरमा छोरीहरु थिएनन । बेलुका खाना खाए पछी स्वामी जीले सबै छोरीहरुलाई डाके । सेविकाले सबैलाई बोलाई । चारै जना छोरीहरु आए । स्वामीले कुरा उठाए । "छोरी रमा बि ए पास गरिहालिस,राम्रो खान्दानको कुरो आएको छ । केटो शास्त्री हो, एक्लो छोरो ।" रमाले तत्काल भनी "पिताजी म अझै पढ्न चाहन्छु ।" स्वामीकी श्रीमतीले भनी "छोरी एकदिन लोग्नेको घर जानै पर्छ । विहे बेलैमा गरेको राम्रो हो ।" रमाले भनी "आमा म कुनै शास्त्रीसँग बिहे गर्नै सक्दिनँ । म मैले नै मन पराएको केटासँग विवाह गर्छु । के ठीक के बेठिक त्यो म छुट्याउन सक्छु । जो सँग मेरो विचार मिल्दैन त्यो सँग म कसरी जीवन बिताउन सक्छु ?" "छोरी ईज्जतभन्दा ठुलो कुरा केही पनि छैन । बाबु आमाले कती दु:ख र संघर्ष गरेर आज यो अवस्थासम्म पुर्याैयो, आज उसैको ईच्छा विपरीतको बाटो अपनाउने हो भने एउटा बाबु त बाबु रहदैन भने म त पण्डित हुँ ,मेरो ईज्जत समाजमा कस्तो छ त्यसको पनि ख्याल गर्नु पर्छ छोरी हो ।"
रमा आफ्नो कोठा तर्फ लागी । अरु छोरीहरु पनि आ-आफ्नो कोठातर्फ लगे । स्वामीजी रिसाएका थिए । सेविकाले सबै नियाली रहेकी थिई । एउटा बाबु र एउटी छोरी । जिबन आफ्नै शैलीमा जिउन खोज्नेहरु,त्यस बिचकी सेविका । दम्पतिहरु आफ्नो कोठामा गये । सेविका पनि आफ्नो कोठामा लागी।
सेविकाले आफुलाई सम्झी । ऊ सेविका मात्र हो । कसैकी श्रीमती होइन, आमा पनि होइन । आत्मा सन्तुष्टी गर्ने ठाउँ खोई ? हो, उस्ले स्वामी जीको सेवामा आफ्नो बाँकी जिबनलाई अर्पण गरिसकेकी छे । यो उसको बाध्यता र कसैले कर लगाएर गरेको निर्णय होइन । यो त उसले आँफै रोजेको बाटो हो ।
हो, स्वामीजीको बिहानै दर्शन हुन्छ । स्वामीजी स्नान गरेर पूजा कोठामा जान्छन । सेविका पूजाका लागि फूल र अन्य सामाग्री तयार पारीदिन्छे । त्यसपछी स्वामिजीको लागि दुध र रोटी ठीक पार्छे । नौ बजेतिर प्रसाद तयार हुन्छ । स्वामीजीलाई पिरो मन पर्दैन, अलिअली अमिलो मनपर्छ, बढी दुध दही मन पर्छ । दिउँसो चिया र फल्फूल खानुहुन्छ । स्वामीजीका कपडाहरुमा दाग लाग्नु हुँदैन । बेलुका पूजा कोठामा सामाग्री ठीक हुनु पर्छ । सुत्नुभन्दा अगाडि तातो पानी कोठामा पुर्यानउनु पर्छ । स्वामीजी प्रफुल्ल हुनुहुन्छ । यो भन्दा उसले पाउन पनि सक्दैन ।
सेविकाले आफ्नो विगतलाई सम्झी । उसले स्वामीजीलाई पच्चिस बर्ष अगाडि चिनेकी थिई । त्यो बेला घरमा पुराण लागेको थियो । भर्खर मात्र शास्त्री भएका प्रेमप्रसाद आचार्यज्यु पहिलो पल्ट प्रवचन गर्न आएका थिए ।
प्रेमप्रसाद आचार्य जवान र सुन्दर थिए । पच्चिस बर्ष पुगेका युवक पण्डितको सेवामा खटिएकी थिई बीस बर्षकी एउटी युवती,यजमानकी छोरी । बाबुले भनेका थिए "हाम्रा पण्डित जीको राम्रो सेवा गर्नु पर्छ । यो तेरो जिम्मा भयो ।" पण्डितजीको ओछयान मिलाउने काम उसैले गर्थी । बिहान स्नान गरी सकेर पण्डितजी पूजा गर्ने बेलामा फूल ठीक पार्ने काम गर्छे । कपडा धुने काम, खनाको प्रबन्ध गर्ने काम पनि युवतीको हो । पण्डितलाई कुनै असजिलो काम हुनु हुँदैन, यो युवतीको लागि चुनौती थियो ।
युवतीले पण्डितको कथा प्रवचन पनि सुनेकी थिई । "शास्त्रले लोक्लाई सत्मार्गैमा लाग्ने बाटो देखाउछ । जसलाई आत्माभित्र लिन सक्यो त्यो सफल हुन्छ…… शास्त्रमा के उल्लेख गरिएको छ भने नारीको परम धर्म भनेको आफ्नो स्वामीजीको सेवा गर्नु हो । स्वामीको प्रशन्नता नै ईश्वरको प्रशन्नता हो, आफ्ना स्वामीजीलाई प्रशन्न पार्नु हरेक स्त्रीको कर्तव्य हो । शास्त्रमा सीता र सावित्रा जस्ता महान नारीको उल्लेख गरिएको छ । जसले आफ्नो स्वामीको सेवामा आफ्ना जीवनहरु अर्पण गर्नेहरु छन । जसलाई लोकले गम्भिरतापुर्वक लिएको छ…………।
"पण्डित राम्रा र सौदिला मात्र होइनन ज्ञानी पनि छन । कलिलै उमेरमा शास्त्री भएका,शास्त्रको ज्ञान लिएका" युवतीका आमाले लोग्नेलाई बताई । लोग्नेले भन्यो—" हो तर यो भाग्यको कुरा हो । यस्ता ज्ञानीलाई छोरी दिन पाये हाम्रो पनि छोरीको पनि कल्याण हुन्थियो ।"
युवतीले ती सबै कुरा सुनेकी थिई । त्यसदिन उसले पण्डितलाई राम्रोसँग नियालेकी थिई । पण्डितजी उसको सेवा देखी पनि प्रशन्न भएका थिए । पण्डितजीलाई असजिलो र अभाव थिएन । उसले पनि कर्तव्य राम्रोसँग पुरा गरेकी थिई । पुराणको सातौ दिन बिहान पण्डितले युवतिलाई भनेका थिए "म तिम्रो सेवा देखि प्रशन्न भए, तिम्रो नाम के हो ?" तर युवती एक्कासी झस्केकी थिई । उसले पण्डितलाई राम्ररी नियाली तर नाम भने भन्न सकिन । टाउको एक्कासी निहुरियो । पण्डितले भनेका थिए – "बरु म भन्छु तिम्रो नाम सेविका हो, यस अर्थमा कि तिमी पाहुनाको सत्कार चाँहि राम्ररी गर्छौ ।" त्यो पण्डितले रोजेको नाम, दिनभरी सेविका पण्डितको सेवामानै थिई । पुराण सिधियो । बेलुका यजमानले पण्डितलाई भनेका थिए -"हामी हजुरको सेवादेखि प्रशन्न छौं । अब अर्को गुन पनि लगाइदिनु भयो भने हाम्रो कल्याण नै हुने थियो ।" पण्डितले भनेका थिए -"कस्तो गुन ?" पण्डितले केही बेरपछि भनेका थिए -" हो मैले उनको कार्तव्यशिलता देखेको छु तर सबै म आफै फैसला गर्न सक्दिन । आमा बुवाको अनुमती पनि चाहिन्छ ।"
सेविकाले बुझेकी थिर्इ । पण्डितजी आफुसँग प्रशन्न छन । त्यसैले उसले पण्डितलाई रोजेकी थिई । त्यो रातभरी उसलाई पण्डितकै सम्झनाले सतायो । अर्को दिन त पण्डितजी बिहान सबेरै हिंड्ने तर्खरमा थिए । सेविकाले बिहानै पूजा गर्ने फूल ठीक्क पारी । पण्डितजीले पूजा सके र चिया पिए अनी बाटो लागे । पण्डितजी बाटो लागेपछि केहीछिन सेविकालाई खल्लो लागेको थियो । तर मन बुझाई, पण्डितले उसलाई मन पराउनुहुन्छ, ऊ पुन: पन्डितको सेविका भएर यो घरबाट पण्डितसँगै जाने छे जीवन भरीका लागि ।
क्रमश :
मितिः२०६२–०७।०८–१६
