नेपाल वायुसेवा निगमको अन्तरिक उडान बन्द


मङ्सिर २९ काठमाडौँ। नेपाल वायुसेवा निगम सम्बद्ध कर्मचारी सङ्गठनहरुले एयर अरेबियालाई काठमाडौँ-क्वालालम्पुरको उडान अनुमति दिएको विरोधमा निगमका सम्पूर्ण आन्तरिक उडानहरु बन्द गराएका छन् ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएइ) को निजी वायुसेवा कम्पनी एयर अरेबियालाई वायुसेवाको पाँचौँ स्वतन्त्रताअन्तर्गत युएइबाट काठमाडौँ उडानसँगै क्वालालम्पुरबाट समेत यात्रु ओसार्ने अनुमति दिएको छ ।
मन्त्रालयको सो निर्णय प्रचलित नियमको उल्लङ्घन र राष्ट्रिय ध्वजाबाहक निगमलाई धरासायी पार्ने राष्ट्रहित विपरीत भएको ठहर गर्दै व्यवस्थापिका-संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिले फिर्ता लिन निर्देश गरिसकेको छ ।
मन्त्रालयले सो अनुमति दिनुअघि निगमसँग राय सुझाव लिनुपर्ने प्रावधान रहेको निगमको धारणा रहेको छ ।
निगमका कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनलगायतका पदाधिकारीले निगमका कार्यकारी अध्यक्षलगायत उच्च कर्मचारीहरुलाई कार्यालयको कक्षमा प्रवेश गर्न दिएका थिएनन् ।
निगमका आन्तरिक उडानहरु आज बन्द रहेको बताउँदै निगमका नायब महाप्रबन्धक राजु केसीले दैनिक १० वटा आन्तरिक उडान हुने गरेको उल्लेख गर्नुभयो ।
उहाँका अनुसार आन्तरिक उडानबाट निगमलाई कुल आयको एक तिहाइमात्र प्राप्त हुने गर्दछ ।
उडान सञ्चालन नहुँदा यसबाट यात्रुवर्गलाई असुविधा भएको छ । रासस

Leave a Reply