देश आमनरसंहारको संघारमा पुगेको भन्दै चिन्ता ब्यक्त


डिसेम्बर ३० एजेन्सी। आइभरी कोष्टमा गत महिना सम्पन्न राष्ट्रपतिय निर्वाचनमा विजयी भएका भनिएका विपक्षी नेता एलासेन वटाराले नियुक्त गरेका संयुक्त राष्ट्र संघका लागि नवनियुक्त दूतले देश आमनरसंहारको संघारमा पुगेको भन्दै चिन्ता ब्यक्त गरेका छन्। बुधवार न्यूयोर्क स्थित राष्ट्र संघीय मुख्यालयमा महासचिब बान कि मूनलाइ आफ्नो ओहदाको प्रमाण पत्र बुझाउने क्रममा युसुफ बाम्बाले आफ्नो देशमा आमनरसंहारको संघारमा रहेको बताएका हुन् ।
गत नोभेम्बर अठ्ठाइसमा सम्पन्न निर्वाचनपछि संयुक्त राष्ट्र संघका लागि आइभरी कोष्टको दूतका रुपमा बाम्बालाई मान्यता प्राप्त विपक्षी नेता वटाराले नियुक्त गरेका थिए। राष्ट्रपति पदमा देखिएको द्धन्द्धका कारण पश्चिमी अफ्रीकी राष्ट्र आइभरीकोष्ट आमनरसंहारको संघारमा पुगेको हो।
राष्ट्र संघ, युरोपेली संघ, अफ्रीकी संघ लगायत अन्तर्राष्ट्रिय समूदायले राष्ट्रपतिय निर्वाचनमा विपक्षी नेता एलासेन वटारालाइ विजयी भएको मान्यता दिए पनि बाग्बोले सत्ता हस्तान्तरण गर्न अस्वीकार गर्दै आएका छन्। राष्ट्र संघ मुख्यालयमा महासचिब बानलाई आफ्नो ओहदाको प्रमाणपत्र बुझाएपछि संचारकर्मीसँग बोल्दै साठी वर्षिय नबनियुक्त दूत बाम्बाले आइभरी कोष्टको स्थिति ज्यादै नाजूक रहेको बताए। उता, बाग्बो सरकारका प्रवत्ताले विपक्षी नेता वटाराबाट राजदूत नियुक्त गरिएका राष्ट्रसँग  सरकारले कुटनितिक सम्बन्ध तोड्ने चेतावनी दिएका छन्।
यसैबीच बुधवार युरोपेली संघले बाग्बो र उसका निकट मानिने समर्थकलाइ लक्षित गरी अर्को महिनादेखि आइभरी कोष्टमा कडा नाकाबन्दी लगाइने बताएको छ। सत्ताइस राष्ट्र सम्मिलित युरोपेली संघको बुधबार ब्रसेल्समा बसेको बैठकले बाग्बो र उसका निकट मानिने समर्थकहरु विरुद्ध युरोप भ्रमण र सम्पत्ती रोक्का लगायतका थप कडा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ।

Leave a Reply