अधिकांश पश्चिमी राष्ट्रमा एक–अर्कासँग भेटघाट गर्दा एक–अर्काको गालामा चुम्बन गर्ने चलन छ ।

द निगे सोसाइटीले सहयोगी तथा व्यापारिक साझेदारसँग भेटघाट गर्दा उनीहरूको गालामा चुम्बन गर्ने प्रथाले कैयौँ जर्मन नागरिकलाई असहज बनाएको बताएको छ । चुम्बनलाई लिएर असजिलो महसुस गर्ने कैयौँ नागरिकको इमेल आफूले पाएको यस संस्थाका प्रमुख माइकल क्लाइनले बताए ।
द निगे सोसाइटीले चुम्बनको सट्टा हस्तमिलन गर्ने सल्लाहसमेत दिएको छ ।
क्लाइन भन्छन्–‘कार्यालयमा हामी चुम्बनमा प्रतिबन्ध लगाउन त सक्दनौँ, तर चुम्बन दिन र दिन नचाहनेलाई भने यसबाट बचाउनुपर्छ ।’ चुम्बन दिन असहज महसुस गर्नेले कागजमा यसबारेमा लेखेर आफ्नो डेस्कमा सन्देश राख्नुपर्ने सल्लाह उनी दिन्छन् ।यस वर्ष मात्र चुम्बन दिनुपर्दा असहज महसुस गर्ने ५० व्यक्तिको इमेल आफूले पाएको उनले बताए । इमेलमा कैयौँ व्यक्तिले आफूलाई मन नपरी–नपरी दुई गालामा चुम्बन दिनुपर्दाको स्थितिसमेत वर्णन गरेका छन् । क्लाइनका अनुसार कैयौँ जर्मन नागरिक भेट्दा गालामा चुम्बन गर्ने चलन मौलिक जर्मन प्रथा नभएको मान्छन् । उनीहरू चुम्बन प्रथा इटाली, फ्रान्स वा दक्षिण अमेरिकाजस्तो देशबाट आयातित भएको मान्छन् । कुनै खास सांस्कृतिक पृष्ठभूमिसँग जोडिएको यो चुम्बन प्रथा मन नपरेकोसमेत बताउने गरेको क्लाइन सुनाउँछन् ।द निगे संगठनले चुम्बनका विषयमा सडक तथा सेमिनारमा यसको सर्वेक्षण गराएको थियो । क्लाइन भन्छन्– ‘सर्वेक्षणमा सहभागी अधिकांश मानिसले चुम्बन प्रथा मन पारेका छैनन् ।’
सर्वेक्षणमा सहभागी मानिसले गालामा गरिने चुम्बनद्वारा कामुकता सिर्जना हुने विचार व्यक्त गरे । चुम्बनमा एक किसिमको शारीरिक सम्पर्क हुने र चुम्बनमार्फत पुरुष महिलासँग नजिक आउनसक्ने सम्भावना पनि मानिसहरूले व्यक्त गरे ।युरोपमा ६० सेन्टिमिटरको एक सामाजिक दूरीको क्षेत्र भएकोले यसको पालना हुनुपर्ने क्लाइनले बताए ।
निगे सोसाइटी जर्मन भाषाको एक शब्दांशमा आधारित छ । यसको अर्थ राम्रो व्यवहारको गाइड हुन्छ । यो संस्था पश्चिमी जर्मनीको डार्टमन्डबाट ८० किलोमिटर टाढा रहेको छ । यस संस्थाले यसअघि पनि सामाजिक व्यवहारसम्बन्धी विभिन्न सल्लाह दिइसकेको छ । प्रेम सम्बन्धको अन्त्य गर्दा टेक्स्ट म्यासेज गर्न तथा रुघा लागेका वेला सार्वजनिक स्थानमा नाकबाट सिगान बग्दा कसरी त्यसको सामना गर्ने भन्ने सल्लाह निगे सोसाइटीले दिएको थियो ।
