साउन २८ बुटवल। एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य देव गुरुङले संविधानसभाको साँचो विदेशीको हातमा रहेकाले नयाँ संविधान बन्न नसकेको बताउनुभयो । संविधानसभाको साँचो विदेशीको हातमा रहेको र यसको असर मुलुकको शान्ति प्रक्रिया र संविधान निर्माणमा परेको उहाँको भनाई थियो ।
रेडियो समावेशीको आज बुटवलमा उदघाटन गर्दै गुरुङले व्यक्तिगत मापदण्डका आधारमा लडाकु भर्ती गर्न खोज्नु विस्तृत शान्ति सम्झौता विपरित भएको तर्क गर्नुभयो । उहाँले समूहगत समायोजनमा कुरा नमिलेकाले सेना समायोजनको मुद्दा टुंगो लाग्न नसकेको बताउनुभयो । उहाँले विस्तृत शान्ति सम्झौतालाई १ सय ८० डिग्रीमा उल्टाउँदै र अन्तरिम संविधानको ठाडो उल्लंघन गर्दै सेना समायोजनको मुद्दालाई बंग्याउने काम गरिएको आरोप लगाउनुभयो । विस्तृत शान्ति सम्झौताप्रति असहमति भए संशोधन गर्ने प्रस्ताव ल्याउन समेत उहाँले चुनौती दिनुभयो ।
माओवादी नेता गुरुङले मुलुकमा गणतन्त्र घोषणा भएपनि नारायणहिटीको अधिकार सिंहदरवारमा नआउँदा जनताले अधिकारको प्रत्याभूति गर्न नपाएको बताउनुभयो । छिमेकी मुलक भारतप्रति संकेत गर्दै गुरुङले भन्नुभयो–“नारायणहिटीको अधिकारको केन्द्र सिंहदरबार नभै विदेशी शक्तिकेन्द्र भएको छ, जसका कारण शान्ति र संविधान पर धकेलिंदै गएको छ ।”