साउन २६ काठमाडौँ । राष्ट्रपति डा रामबरण यादवले मुलुकको प्रमुख एजेण्डा शान्ति संविधानलाई छाडेर दलहरुको प्रमुख एजेण्डा सत्ता बनेकोप्रति चिन्ता ब्यक्त गर्नुभएको छ । पाँच बुँदे सहमति कार्यान्वयनको वातावरण बनाउने उद्देश्यले रिपोर्टर्स क्लब नेपालले थालेको अभियान अन्र्तगत क्लबका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको पत्रकारहरुको टोलीसँग ज्ञापन–पत्र बुझ्दै राष्ट्रपति यादवले राष्ट्रको आवश्यकता शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउँदै लोकतान्त्रिक संविधान निर्माण गर्नु भए पनि दलहरुको प्राथमिकता शान्ति र संविधान माथि सत्ता हुन पुग्दा समस्या आएको बताउनुभयो । उहाँले सत्ता भन्दामाथि शान्ति र संविधानलाई राखेर अगाडि बढे समस्या समाधान हुने विश्वास ब्यक्त गर्नुभयो ।
राष्ट्रपतिले राजनीतिक दलहरुले विगतमा गरेको सहमति, अन्तरिम संविधान र पछिल्लो समयमा गरेको पाँच बुँदे सहमति कार्यान्वयन गरे सहमतिको सरकार बन्ने र त्यसले मात्रै राष्ट्रलाई निकास दिने दावी गर्नुभयो । दलहरुले शान्ति र संविधान निर्माणको कार्य समयमा सम्पन्न नगरेर समय लिदै जादा जनताले उनीहरुमाथि प्रश्न उठाउन थालेको भन्दै पछिल्लो समयमा अन्र्तराष्ट्रिय समूदायले समेत राजनीतिक दलहरुको क्षमतमामाथि प्रश्न उठाउन थालेकोले यो राम्रो संकेत नभएको बताउनुभयो ।
तीन दलवीचको सहमतिमात्रै राष्ट्रीय सहमति हुन नसक्ने तर्फ संकेत गर्दै उहाँले ठूला तीन दल र मधेसबादी दलहरुसहित चार शाक्तिवीचको सहमति आवश्यक रहेको तर्क गर्नुभयो । यद्यपि राष्ट्रपति यादवले बाँकी दिनमा दलहरुवीच सहमति भएर शान्ति प्रक्रियाका अगाडि बढ्ने र संविधानको पहिलो ड्राफ्ट आउने विश्वास ब्यक्तगर्नुभयो । उहाँले परिवर्तनलाई संस्थागत गरेर मात्रै समृद्ध नेपाल निर्माण गर्न सकिने भन्दै परिवर्तनलाई नस्विकार्नेहरु र मिलेर अगाडि बढ्न नचाहनेहरु आफै फालिने दावी गर्नुभयो ।
राष्ट्रले संघीयतमा जाने संकल्प गरिसकेकोले बैज्ञानिक ढंगले भुगोल, आर्थिक सम्भाब्यता र सामाजिक हिसाबमा सबैले त्यसको लाभ पाउन गरी संघीयतामा जानु पर्ने भन्दै परिवर्तनका उपलब्धिहरुलाई संस्थागत गरेर मात्र आधुनिक राष्ट्र निर्माण जान सकिने धारणा राख्नुभयो । उहाँले नेपाली जनताको झण्डै सात दशको आन्दोलनबाट परिवर्तन आएको भन्दै मुलुकलाई अखण्ड राख्दै परिवर्तनलाई संस्थागत गर्नु पर्ने बताउनुभयो ।
