साउन २६ इलाम । भारतीय सीमा सुरक्षा बल एसएसबीको ज्यादती सहन नसकेको भन्दै पूर्वोत्तर इलामका स्थानीयबासिन्दा र व्यापारीले अनिश्चितकालीन बजार बन्द गराएका छन् । एसएसबीका जवानहरूले नेपाली व्यापारीलाई दुःख दिने गरेकाले उनीहरूले गत सोमबारदेखि अनिश्चितकालीन मानेभञ्ज्याङ बन्द गराएका हुन् ।
नेपालका व्यापारी तथा सर्वसाधारणले लगेको घ्यु, छुर्पी, सेरगम, अदुवा, अलैची, सागसव्जी लगायतका खाद्य सामग्रीसमेत एसएसबीका जवानहरूले लैजाने गरेको व्यापारी चन्दन प्रधानले बताउनुभयो । भारतीय बजारमा विक्रीका लागि लैजान सङ्कलन गरिएको खाद्य सामग्रीमा समेत एसएसवीले कर लगाउने गरेको छ । बजार बन्द हुँदा दैनिक लाखौंको घाटा हुने गरेको व्यापारीहरू बताउँछन् ।
एसएसबीका जवानहरूलाई वार्षीक २० हजार भारू रूपैयाँ कर तिरे पनि अझ बढी माग्न थालेको र खाद्य सामग्री समेत खोस्ने गरेकाले नाका बन्द गरिएको अर्का व्यापारी पुजन प्रधानले बताउनुभयो ।
