एनआरएन यूकेका अध्यक्ष पदका दाबेदार उम्मेदवारहरुसंगको कुराकानी

एनआरएन यूके निर्वाचन मिति नजिकिंदै गर्दा अध्यक्ष पदका उम्मेदवारहरु लक्ष्य गुरुङ, कुल आचार्य र महेन्द्र कंडेल चुनावी प्रचारमा व्यस्त छन् । उनीहरुले किन उम्मेदवारी दिंदैछन् ? के छ उनीहरुका एजेन्डा ? प्रस्तुत छ उनीहरुसंग भएको कुराकानीको सारांशः


लक्ष्य गुरुङ
मे २००५ देखि निरन्तर बेलायत छन् लक्ष्य गुरुङ । बन्र्टओक नेपाली समाज यूकेका अध्यक्ष उनी हाल एनआरएन यूके आइसीसी सदस्य हुन् । यसअघि कार्यकारी सदस्य थिए उनी ।


अध्यक्ष पदमा तपाईंको उम्मेदवारी किन ?
एनआरएनमा स्थापना कालदेखि नै लागेकाले मलाई राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभव छ । तल देखि माथिसम्म बुझेको छु मैले । एनआरएन सुदृढीकरण गर्ने र सञ्जाललाई बलियो बनाउने मेरो धोको भएर पनि उम्मेदवारी दिएको हुँ । एनआरएनमा लागेर बेलायत र अन्तर्राष्ट्रिय मुद्दा राम्ररी बुझेकाले नेतृत्वका लागि म लायक छु भन्ने लाग्छ । मैले संसार घुमेको छु, डायष्पोरा राम्ररी बुझेको छु । त्यसैले उम्मेदवारी दिन संकोच लागेन ।


तपाईं गुरुङ जाती । बेलायतमा गुरुङ समुदाय ठूलो भएको र चर्चाकै लागि लहैलहैमा उठ्नुभएको भन्छन् त ?
यो गलत बुझाइ हो मान्छेको । म नेपाली, एउटा एनआरएन भएर उठेको हुँ । पहिलो नेपाली, त्यसपछि म गुरुङ हुं । मैले नेपाली समुदायलाई विगत देखि नै नेतृत्व गरेको छु न कि जातीय, क्षेत्रीय, राजनीति, धर्मलाई अघि सारेर ।

के के एजेन्डा लिएर आउनुभएको छ ?
मुख्य रुपमा भन्नुपर्दा बेलायतमा अहिले भूपू गोर्खा र तिनको परिवार संख्या ७० हजार बढि पुगिसकेको अनुमान छ । मैले जितें भने एनआरएन मार्फत भूपू गोर्खाको समान पेन्सन अधिकार संवोधन गर्न सक्छु भन्ने विश्वास छ । साझा भ्वाइस् दिन सबैलाई एकत्रित गरेर सशक्त रुपमा लड्न पहल गर्ने मेरो योजना छ । अहिले बेलायत आएका भूपूहरुमा भाषा समस्या मुख्य भएकाले उनीहरुलाई पोहोर सालदेखि निशुल्क इसोल कक्षा चलाइरहेको छु । सर्भिस् च्यारिटिज संस्थाहरुः सिटिजन व्युरो एड्भाइस, जव सेन्टर, साफा, ए वी एफ, बि्रटिश लिजन, गोर्खा वेलफेयर ट्रष्ट लगायत ८ संस्था बोलाएर 'इन्फर्मेशन डे' पनि गरें भूपू गोर्खाहरुकै लागि ।
नेपाली समुदायलाई 'इन्टि्रगेट' गराउने अर्को एजेन्डा हो मेरो । दोहोरो नागरिकता पनि मुख्य एजेन्डा छ । यस सम्बन्धमा आइसीसीमा बसेर मैले धेरै वकालत गर्दै पनि आएको छु । विदेशी नागरिकता लिएकै भरमा नेपाली नागरिकता गुमाउनु नपरोस् भनेर म शुरु देखि नै लागेको छु ।

विद्यार्थी मुद्दा पनि उठाउनेछु । 

अर्को कुरा, एनआरएन यूकेको सदस्यता शुल्क घटाउने मेरो योजना छ, जसले धेरै नेपाली समेटिन सक्छन् । यसबाट एनआरएन 'ग्रासरुट' मा जान सक्छ । नेपाली संस्कार, संस्कृतिको जगेर्नाका लागि नेपाली घर बनाउने परिकल्पना पनि म मा छ । यसअघि यो प्रसंग आएपनि प्रक्रिया अघि नबढेकाले म यसमा पनि लाग्छु ।

नेपालमा सामूहिक लगानीको कुरा पनि छ । एनआरएनको ठूलो सञ्जाललाई सामूहिक लगानीमा लाग्न प्रेरित गर्छु । पर्यटन प्रवर्द्धन बढाउँछु । नेपालका विभिन्न गाउंसंग युकेको मितेरी सम्वन्ध गाँस्न विदेशीहरुलाई प्रोत्साहन गर्ने पनि मेरो योजना छ । म एभरेष्ट क्यास एण्ड क्यारीसंग आवद्ध भएकाले नेपाली खाद्य उत्पादनलाई विदेशमा लैजान पनि म पहल गर्नेछु ।

यो त भयो चुनावी मुद्दा, कार्यान्वयन त गार्‍हो छ नि ?
हो सही कुरा गर्नुभयो । म एक्लैले उल्लेखित काम गर्न सक्दिन त्यसकारण समावेशी टिम बनाएर अघि बढ्ने मेरो सुर छ । बेलायतका विभिन्न राजनीतिक, जातीय, गोर्खा संघसंस्था, विभिन्न कम्युनिटीको सल्लाह, सुझावमै अघि बढ्छु ।

एउटा पदका लागि तीन उम्मेदवार देखियो, यति सानो समुदायमा किन यस्तो । यसले त नेपाली समाज विभाजन गर्दैन् र ?
 सामाजिक एवं राजनीतिक परिवर्तन ल्याउन आफैंले नेतृत्व गर्नुपर्ने भएर हो । तर, समझदारी गरेर अघि बढ्ने भन्नेमा हाम्रो प्रयास जारी छ । सकेसम्म मिलीजुली जान म त तयार छु ।

के शर्तमा कुरा मिल्ला ?
मेरो कुरा हो भने कन्डिशन चाहिं हुनुपर्छ । जस्तो मेरो मुद्दा पनि राखिनुपर्छ । मुद्दा संवोधन हुन्छ भने मलाई पद छोड्न आपत्ति छैन् ।


महेन्द्र कंडेल
सन् १९९५ मा बेलायत प्रवेश गरेका महेन्द्र कंडेल एनआरएन यूकेका वर्तमान उपाध्यक्ष हुन् । बेलायतमा रेष्टुरेन्ट, कलेज, फार्मेसी, मिडिया र होलसेल ग्रोसरी चलाइरहेको 'कंडेल ग्रुप' मा निर्देशक समेत छन् उनी ।

अध्यक्षमै किन उम्मेदवारी दिनुभयो ? 
एनआरएन यूकेले जुन रफ्तारमा काम गर्नुपर्ने थियो त्यो नगरेको जन गुनासो आइरहंदा म केही नयाँ भिजनका साथ काम गर्न इच्छुक छु । एनआरएन सबैको साझा संस्था हो भन्ने बनाउन मैले उम्मेदवारी दिएको हुं । एनआरएनमा उपाध्यक्ष भएर काम गर्दा धेरै सिकियो, मानवीय सहयोग गर्ने अवसर पनि प्राप्त भयो । यसबाट समुदायको सकारात्मक प्रतिक्रिया र साथी भाईको सल्लाह सुझावले पनि मलाई प्रेरणा मिलिरहेको छ।


नामका लागि मात्र हो कि ?मलाई नामकै लागि एनआरएन यूके अध्यक्ष हुन जरुरी छैन् । किनकि म बेलायतको नेपाली समुदायका लागि पुरानो मान्छे हुं, सानो समुदायमा सबै परिचित हुनुहुन्छ । फेरि म मिडियामा भएको मान्छे, चर्चाको लागि मात्र यसमा लाग्न जरुरी थिएन ।


तपाईंका विशेष एजेन्डा के छन् ?
दोहोरो नागरिकता मुद्दा नै मेरो मुख्य एजेन्डा हो । अहिले एनआरएन एक्लैले यस मुद्दा अगाडि बढाइरहेको छ । मैले जिम्मेवारी पाएँ भने यो मुद्दा राजनीति दवावबाट र फरक ढंगले सम्पन्न गर्नेछु । यो मुद्दा बेलायतस्थित विभिन्न राजनीतिक दल र संघसंस्थासंग समन्वय गरेर अगाडि बढ्दा बढि प्रभावकारी हुन्छ भन्ने मेरो विश्वास छ ।

गोर्खा मुद्दा पनि मेरो प्राथमिकतामा छ । म गैर गोर्खा हुं भन्दैमा भूपू गोर्खाहरुको पीर मर्का हेरेर बस्न सक्दिन किनकि उनीहरु नेपाली हुन्, हाम्रै दाजुभाई हुन् । गोर्खा परिवारको समस्या समाधान गर्न एनआरएन सञ्जाल अनि विभिन्न संघसंस्था परिचालन गर्न म सक्षम हुनेछु भन्ने लाग्छ ।

पहिलो पुस्ताले एनआरएन बुझेपनि बेलायतमै जन्मे हुर्केको पुस्ता यसबारे अनभिज्ञ छ, म उनीहरुसम्म एनआरएन पुर्‍याउन लालयित छु । उनीहरुलाई एनआरएनमा समाहित नगरेसम्म देश विकासका काम सम्भव हुन्छ जस्तो लाग्दैन मलाई ।

विद्यार्थी समस्या समाधानमा पनि मेरो फरक कार्ययोजना हुनेछ ।मैले तत्काल देखेको कुरा हो नेपालमा सामूहिक लगानी । हामीले लगानीको वातावरण कसरी निर्माण गर्न सकिन्छ भन्ने विश्वास दिलाउन केही ठोस कार्यक्रम ल्याउन सकेका छैनौं । यसप्रति मेरो विशेष ध्यान रहनेछ ।

यसअघि पनि सामाजिक काममा मेरो संलग्नता धेरै रहेकाले यसमा अरु तीव्रता दिने मेरो धोको छ । युकेका विभिन्न संघसंस्थाको सहकार्यमा नेपालका ग्रामीण र पिछडिएको समुदायमा शिक्षा, स्वास्थ अनि आर्थिक राहत प्याकेज लैजान म कटिवद्ध हुनेछु । एनआरएन व्यापारी र पैसा हुनेहरुको मात्र संस्था हो भन्ने जुन छाप आम जनमानसमा छ, म त्यो छाप हटाउन चाहन्छु । एनआरएन यूकेको सदस्यता लिन हाल भइरहेको कठिन प्रक्रिया अन्त्य गरि सहज बनाएर धेरै नेपाली सहभागी गराउने एजेन्डा पनि मेरो छ ।

भने अनुसार उल्लेखित काम कार्यान्वयन गर्न सहज छ ?
कस्तो टिम बनाएर अघि बढ्ने भन्ने कुरा आउंछ यसमा । सबै एक्लै आंट्छु भनेर हुने काम होइन यो । यसमा सबै जनशक्ति परिचालन जरुरी छ जुन म गर्न सक्षम छु । साथीहरुलाई पनि काम गरौं भन्ने वातावरण सृजना गर्न म क्रियाशील हुनेछु जसले असम्भव होला भन्ने मलाई लाग्दैन ।

तपाईंहरु मिलेर किन जान सक्नुहुन्न ? यसले समाज विभाजित हुंदैन र ?
हामीले समझदारीको विकल्प त्यागिसकेका छैनौं । तर चुनावी प्रक्रियामा जाँदैमा समाज भांडिन्छ भन्ने मलाई लाग्दैन किनकि लोकतन्त्रमा पारदर्शी र प्रतिष्पर्धात्मक तरिकाले नै अघि बढ्नु पर्छ ।


कुल आचार्य
 सन् १९९९ मा बेलायत आएका कुल आचार्य वर्तमान एनआरएन यूके उपाध्यक्ष हुन् । यसअघि कार्यसमिति सदस्य रहेका उनी होलीकाउ मेनेजमेन्ट ग्रुप कम्पनीका एमडी हुन् जसको ७ शाखा छन् लन्डनमा ।


एनआरएन यूके अध्यक्षमा तपाईंको उम्मेदवारी किन ?
मेरो दुई कार्यकालको अनुभवपछि बेलायतस्थित नेपालीको हित र नेपालको विकासका लागि मैले उम्मेदवारी दिएको हुं । म बेलायतका धेरै ठाउं पुग्दा साथीहरुले 'अयोग्य हुनुहुन्छ' भनेको सुनेको छैन् । बरु एकपटक उठ्नुहोस् भनेर थप प्रेरित गरेकाले पनि म उत्साहित भएको हुँ । म उपाध्यक्षमा क्रियाशील हुंदै अध्यक्ष पद दावी गरेकाले यो स्वभाविक हो भन्ने लाग्छ ।


एजेन्डा के के छन् तपाईंका ? 
दोहोरो नागरिकता मुद्दा मेरो प्राथमिकतामा छ । 'एकपटकको नेपाली सधैंको नेपाली' भन्ने अभियान सफल बनाउन समर्पित हुनेछु ।अर्को एजेन्डा छ गोर्खा मुद्दा । नेपाल र बेलायतको जग राख्ने भूपू बि्रटिश गोर्खाहरु समान अधिकारका लागि आन्दोलित भएको अवस्था छ । केही साथीहरु हस्ताक्षर अभियानमा लाग्नुभएको छ, केही युरोपियन कोर्ट सम्म पुग्नुभएको छ न्याय खोज्न । म उहाँहरुप्रति पूर्ण समर्थन गर्दै साथ दिने वचन दिलाउन चाहन्छु ।साथै, यतिखेर बेलायतमा नेपाली ओइरिने क्रम बढेको छ, आपतविपतका घट्ना पनि छन् । 'इन्टिग्रेशन' समस्या उस्तै छ, यी सबैको समाधानमा पहल गर्ने मेरो योजना छ ।

 म उपाध्यक्ष हुंदा मेरो जिम्मामा वेलफेयरका दर्जनौं काम आए, यस क्रममा असंख्य मानवीय काम गरिसकेको छु र अरु तीव्र बनाउने मेरो दृढता छ । नेपाली जनसंख्या वृद्धि भइरहंदा बेलायतमा नेपाली सामुदायिक भवनको अत्यन्त खांचो छ, मेरो कार्यकालमा त्यसका लागि आधारशीला तयार गर्नेछु । यसका लागि नेपाली संघसंस्थाका प्रतिनिधि, वुद्धिजिवी र अन्य पेशाकर्मीसंग खुल्ला छलफल गरि कार्ययोजना बनाउनेछु ।

बेलायतस्थित नेपाली समुदायको 'ग्रास रुट' मा पुगेर एनआरएन हामी सबैको हो भन्ने दिलाउन म सक्रिय हुनेछु । म अध्यक्ष भएमा तत्काल 'एनआरएन मेम्बरसीप कार्ड' उपलब्ध गराउने छु । विद्यार्थी समस्या पनि टड्कारो छ, यसको समाधानमा लाग्नेछु । बेलायतमा देखा परेको बेरोजगारीमा आत्मनिर्भरताका लागि नयां सीप, तालिमको कार्ययोजना पनि बनाउने योजना छ । वास्तवमा म तल्लो पृष्ठभूमिबाटै यहाँसम्म आइपुगेकाले सबै तह तप्का, दुःखी गरिवको पनि भावना बुझेको छु र उनीहरुकै खातिर म समर्पित हुनेछु ।

यी एजेन्डाको व्यवहारिक कार्यान्वयन सजिलो छ त ?
म एक्लैले यी सबै गर्ने कुरा हुंदैन । मैले अघि नै भनिहालें- मेरो साथमा पेशाकर्मी, वुद्धिजिवी, नेपाली संघसंस्थाका प्रतिनिधि भएकाले असम्भव हुंदैन ।

तपाईंहरुबीच सहमति हुने सम्भावना कत्तिको छ ?
हामी मिलेरै जानुपर्छ भन्ने मेरो पनि धारणा हो । यसअघि हामीले विभिन्न जातजाती, भाषाभाषी र वर्ग मिलाएर लानुपर्छ भनेर निर्वाचन नगरि सहमतिमा कमिटी गठन गरिएको विदितै छ । सकभर 'नेगोसिएसन' मै गएमा समाजमा सकारात्मक सन्देश जान्छ । स्रोत : युरोपको नेपाली पत्र

Leave a Reply