साउन २८ काठमाडौं । हिन्दू धर्माबलम्बीहरू आज पवित्र यज्ञोपवीत र रक्षाबन्धन ग्रहण गर्दै जनैपूर्णिमा मनाउँदैछन् । हिन्दू दर्शनअनुसार जनैलाई ‘ब्रह्मासूत्र’ अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर र अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ । विधिपूर्वक जनै मन्त्रन यजमानहरू आज बिहान सबेरै आआफ्ना गुरु–पुरोहित कहाँ तथा मन्दिरमा जाने गर्छन् ।
आजका दिन सप्तर्षि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिइन्छ । मानव रक्षाका लागि आजका दिन जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन (डोरो) ‘येनबद्धो बलिराजा दानवेन्द्रो महाबल, तेनत्वं प्रतिवध्नामी रक्षेमा चल मा चल’ मन्त्र पढ्दै ब्राम्हणहरूले यजमानको नाडीमा बाँधिदिन्छन् । आजको दिन एघारथरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन पनि छ ।
यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ । तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी–बहिनी र दाजु–भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ ।
आजका दिन दिदी–बहिनीले आफ्ना दाजु–भाइको दीर्घायु र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ । आज काठमाडौको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाईकुण्ड, रामेछाप र दोलखाको सीमा पाँचपोखरी, जनकपुरधामको गङ्गासागर तथा धनुषसागर, जुम्लाको दानसाधु, त्रिवेणीलगायतका स्थानमा पवित्र स्नान गरी महादेवको पूजाअर्चना गर्न भक्तजनको ठूलो घुइचो लाग्छ ।
नेवार समुदायमा आजका दिनलाई ‘गुन्हु–पुन्ही’ भनी मनाइने परम्परा छ । विभिन्न प्रकारको स्वरबाट वर्षा र खेतीको कामबारे कृषकलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन रहेको छ ।
आजकै दिन गौतमबुद्धले आफ्नो कामशक्तिमाथि विजय प्राप्त गरेका थिए भन्ने विश्वासका साथ बौद्धग्रन्थको ललितविस्तारमा उल्लेख गरिएको छ । यस दिन स्वयम्भूमा पनि ठूलो मेला लाग्छ ।