साउन २८ काठमाडौँ । शान्ति प्रक्रियाका विषयमा दलहरुबीच सहमति नजुटेपछि बिहान बसेको तीनदलको बैठक केही समय बसेर स्थगित भएको छ । बैठकमा प्रधानमन्त्री झलनाथ खनालले शान्ति प्रक्रियाका विषयमा सहमतिको खाका तयार गर्ने प्रस्ताव राखेपनि माओवादीबाट कुनै खाका पेश नभएपछि अनौपचारिक रुपमै बैठक सकिएको थियो ।
विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा तीनदलका प्रमुख नेताहरुको सहभागिता थियो। बैठकपछि नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा र नयाँ सरकार गठनका विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्रीले नयाँ सरकारको वाताबरण तयार नभई राजीनामा गर्दा संविधानसभाको म्याद थप्नुपर्ने जस्ता विषयमा जटिलता आउने हो की ? भन्ने आशंका गरेको पनि पत्रकारहरुलाई जानकारी दिनुभयो ।
एमाले नेता भीम रावलले शान्ति प्रक्रियाका विषयमा प्रधानमन्त्रीले प्रस्ताव राखेको तर कुनै सहमति नभएको बताउनुभयो । रावलले माओवादीबाट कुनै विशेष प्रस्ताव नआएको र आज भोलि नै आउने सम्भावना पनि नदेखिएको बताउनुभयो । नेपाली कांग्रेसले मधेसीदलको पनि सहभागि अनिवार्य रहेकाले तीनदलले मात्रै निर्णय गरेर नपुग्ने तर्क गरेको थियो ।
प्रधानमन्त्रीको निजि सचिवालयका अनुसार प्रधानमन्त्री खनालले आजै फेरि छुट्टै छलफलको तयारी गरिरहनु भएको छ ।