साउन २७ काठमाडौ। सेनाका पुराना हतियार वेचिएको सम्बन्धमा संसदको राज्यव्यवस्था समितिले छानविन सुरु गरेको छ । यसक्रममा समितिले आज गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री विष्णु पौडेल, रक्षासचिव नविन घिमिरे, प्रधानसेनापति छत्रमान सिह गुरुङ सँग सो विषयमा जानकारी लिएको छ । छलफलपछि बैठकले बेचिएको ऐतिहासिक हतियार र अहिले भण्डारणमा रहेका हतियारको विषयमा सम्पूर्ण विवरण एक साता भित्र समितिमा उपलब्ध गराउन नेपाली सेनालाई निर्देशन दिएको छ ।
बैठकमा सभासदहरुले संग्रह गरेर राख्नुपर्ने हतियार वेच्नु राष्ट्रघात भएको टिप्पणी गरेका छन् । साथै उनीहरुले हतियार वेचविखनको यथार्थ छानबीनका लागि माग गरेका छन् । जारी बैठकमा एमालेका सभासद प्रदीप ज्ञवालीले राष्ट्रको स्वाभिमानसँग जोडिएको हतियार सुरक्षित राख्नुपर्नेमा त्यो बेच्नु अक्षम्य गल्ती भएको बताउनुभयो । यो भन्दा ठूलो गल्ती र अपराधलाई कसरी क्षमा गर्न सकिन्छ ? भनेर ज्ञवालीले प्रश्न गर्नुभयो ।
यस्तै माओवादी सभासद दिनानाथ शर्माले नेपालको स्वाभिमान जोगाउने हतियार बेचिनु ठूलो राष्ट्रघात भएको बताउनुभयो । त्यस्तो हतियार वेच्नेलाई मृत्युदण्ड दिए पनि नपुग्ने शर्माको टिप्पणी थियो । बैठकमा प्रधानसेनापति गुरुङले जसरी एघारवर्ष पछि मिडियाले सार्वजनिक गरेर सबैलाई थाहा भयो त्यसरी नै आफूलाई पनि भर्खरै मात्र थाहा भएको प्रतिक्रिया दिनुभएको थियो ।