रविन्द्र र मातृका जस्ता चोइटिएर गए पार्टीलाई धेरै फाईदा छ: माओवादी नेता गजुरेल

असोज १३ काठमाडौ । एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य हरिवोल गजुरेलले माओवादीभित्र धेरै प्रदुषण भएकोले रविन्द्र र मातृका जस्ता ब्यक्तिहरु चोइटिएर गए पार्टीलाई फाईदा हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा नेता गजुरेलले पार्टीभित्रको अहिलेको विवादमा केही नेताहरु चोइटिएर जाने सम्भावना रहेको औल्याउनुभएको छ । उहाँले भन्नुभयो–पार्टीभित्र धेरै प्रदुषण छ, मातृका र रविन्द्र जस्ताहरु अहिले पनि चोइटिएर जान सक्छन, उनीहरु जानु पनि पर्छ यसले पार्टीलाई फाइदा हुन्छ ।

यद्यपि माओवादी नेता गजुरेलले एकीकृत माओवादी भने कुनै पनि हालतमा नफुट्ने दावी गर्नुभएको छ । उहाँले अहिले जारी संघर्षको वीचबाट पार्टी झनै एकीकृत हुने र नफुटने बताउनुभएको छ । पार्टीभित्रबाटै विरोध भएको चार बुँदे सहमतिले मधेशी जनताको भावनालाई संबोधन गरेकोले त्यसको विरोध गर्नेहरु राष्ट्रघाती भएको आरोप लगाउनु भएका माओवादी नेता गजुरेलले मधेशी जनतालाई सेनामा प्रवेश गराएर समावेसी बनाउने कुराको माओवादीले बिरोध नगर्ने बताउनुभयो । उहाँले बाहिर विरोध भएको जस्तो सुपुर्दगि सन्धी, एयर मार्सल राख्ने जस्ता विषयहरु सम्झौतामा नभएको भन्दै  सरकार निर्माणको आधार चार बुँदेसहमति खारेज भए बर्तमान सरकारनै ढल्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति सुशील कोइरालावीच सकारात्मक रुपमा कुराकानी भईसकेकोले दशैभित्रमै महत्वपूर्ण सहमति बनेर शान्ति प्रक्रिया अगाडि बढ्ने विश्वास नेता गजुरेलले ब्यक्त गर्नुभएको छ । उहाँले संविधानसभाको म्याद आगामि मंसिर १४ गते पछि पुनः थप्ने विषयमा दलहरुवीच खासै विवाद नभएकोले म्याद फेरि थपिने विश्वास ब्यक्त गर्नुभएको छ ।

गजुरेलले रक्षामन्त्री र उनको दलले विवादास्पद अभिब्यक्तिको विषयमा गल्ती स्विकार गरेर आत्मालोचना गरिसकेकोले अब त्यसको विरोध गर्नुको कुनै औचित्य नभएको बताउनुभयो ।

Leave a Reply