दसैंको आठौँ दिन दर्गाभवानीको पुजाआराधना गरी महाअष्टमी मनाईदै

काठमाडौं, १७ असोज । बडादसैँको आठौँ दिन आज देशभर दुर्गाभवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ ।

यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत देशभरका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गरिन्छ । काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, वीजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, वज्रबाराहीलगायतका मन्दिरमा पनि बलि चढाउने र पूजाआराधना गर्नेको बिहान सबेरैदेखि घुइँचो लागेको छ ।

यसैगरी गोरखाको मनकामना, धादिङको त्रिपुरासुन्दरी, रणचण्डि कालिका, नुवाकोटको भैरवी, वीरगन्जको गहवामाई, बुटवलको कालिका, नेपालगञ्जको बागेश्वरी, सप्तरीको छिन्नमस्ता भगवती, धरानको दन्तकाली, जनकपुरको राजदेवी, डोटीको सैलेश्वरी, कालिकोटको बडिमालिका, डँडेलधुराको उग्रतारालगायतका मन्दिरमा पनि शक्तिरूपा भगवतीको पूजाअर्चनाका लागि दर्शनार्थीहरुको घुइचो लागेको छ ।

महाअष्टमीकै अवसरमा आज दसैँघर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै कलपुर्जा, हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ ।

पशुवलि नचढाउनेहरू पनि आजको दिन जमराकोठामा घिराँैला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गाभवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् । हनुमानढोकाको दसैँघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गाभवानीको पूजाअर्चना र हर्षबढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्री मनाउने चलन छ ।

Leave a Reply