रुकुमका वादीलाई दशैंमा खानेखर्च भएन

रुकुम, १७ असोज । प्रधानमन्त्री बाबुराम भट्टराईले बझाङ जिल्लाको चैनपुरका वादी समूदायलाई दशैं खर्च दिएपनि रुकुम जिल्लाका खोलाकिनारमा बसेवास गर्ने वादीले सहयोग पाउन सकेनन् ।

बझाङका वादी समूदायको भन्दापनि दैनिय अवस्थामा रहेका रुकुमका १५ सय वादी समूदायले यस पटकको दशैंमा खानलाई कुनै अन्नपात नरहेको जनाएका छन् । आठविकोट, बाफिकोट लगायतका गाविसमा पर्ने नदी किनारमा बसेवास गर्ने वादी समूदायको परम्परागत पेशा हराउदै गएपछि दशैं र अउनु दिन बर्षभरी उस्तै भएको छेवाङ–१ का राजन वादीले जानकारी दिनुभयो ।

खोलामा माछापनि नपाईने भएकाले विहान बेलुका खानलाई समस्या भएको उहाँले बताउनुभयो । रुकुम जिल्लामा मात्रै झण्डै १५ सय वादी समूदाय वसोवास गर्छन ।

यस अघि, प्रधानमन्त्री बाबुराम भट्टराईले हिजो मात्रै बझाङको चैनपुरमा बस्ने वादी समूदायलाई राहत स्वरुप प्रतिपरिवार दश÷दश हजार रुपैयाँ राहत उपलब्ध गराउन मुख्य सचिव माधव घिमिरेलाई निर्देशन दिनुभएको थियो ।

तर उहाँले खर्चको अभावमा दशैं मनाउन नसक्ने बझाङ मात्रै होइन रुकुम, दाङ, सल्यान, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा बसेवास गर्ने वादी समूदायलाई कुनै राहत दिने तर्फ ध्यानदिनु भएन । बझाङका भाग्यमानी २२ वादी परिवारले प्रधानमन्त्री सहायता कोषबाट दश÷दश हजार रुपैयाँ राहत पाएपनि अन्य वादीले पाउनेमा आशा गरेका छन् ।

Leave a Reply