चेलिबेटी बेचबिखनका अपराधिलाई कारबाही गरिने: प्रधानमन्त्री डा. भट्टराई



असोज १९ काठमाडौं । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले चेलिबेटी बेचबिखनमा सलंग्न अपराधीहरुलाई कडा कारबाही गरिने बताउनुभएको छ । काठमाडौं पिङ्लास्थानस्थित माइती नेपालमा पूनस्र्थापित जीवन बिताइरहेका बालबालिका तथा युवतीसंग आज दशैं मनाएपछि प्रधानमन्त्री भट्टराईले कानून परिमार्जन गरेर भएपनि अपराधीलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

चेलीबेटी बेचबिखनमा संलग्न अपराधीलाई संसारकै ठूलो अपराधीको संज्ञा दिदै प्रधानमन्त्री भट्टराईले बेचिएका चेलीहरुको पूनस्र्थापनामा सरकारले विशेष पहल गर्ने आश्वासन दिनुभयो । चेलिबटी बेचबिखनमा मुलुकको प्रहरी, प्रशासन र राजनीतिक दलहरुको समेत मिलेमतो रहेकोप्रति प्रधानमन्त्री भट्टराईको आशंका थियो ।

आज बिहानै माइती नेपालको कार्यालय पुग्नुभएका प्रधानमन्त्री भट्टराईले पूनस्र्थापित जीवन बिताइरहेका बालबालिका तथा युवतीहरुका दुःख र गुनासाहरु सुन्नु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बेचिएका चेलीहरुका दुःखका कथाहरु सुनेपछि निकै भावुक बन्नु भएको भट्टराईले आफु चेलिबेटी बेचबिखन उन्मुलन नभएसम्म यसविरुद्ध लड्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

करिब ६ सय जना बालबालिकासाथ दशै मनाउन पत्नी हिसिला यमीसहित माइती नेपाल पुग्नुभएका प्रधानमन्त्री भट्टराईले पिङ खेलेर रमाइलो साटासाट गर्नुभएको थियो ।

Leave a Reply