असोज २३ काठमाडौं। राष्ट्रपति डा. रामबरण यादव तीन दिने राजकीय भ्रमणका लागि आज १५ सदस्यी प्रतिनिधी मण्डलको नेतृत्व गरेर कतार प्रस्थान गर्नुभएको छ ।
कतारका अमिर शेख हमाद वीन खलिफा अलथानीको निमन्त्रणमा डा.यादव राजकीय भ्रमणमा जानुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति र प्रतिनिधी मण्डल आज विहान पौने दश बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडानबाट त्यस तर्फ प्रस्थान गर्नुभएको छ । करीव ५ घण्टाको
यात्रापछि स्थानीय समय अनुसार मध्यान्ह १२ बजे दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति डा.यादव ओर्लिने कार्यक्रम छ ।
दोहा विमानस्थलमा राष्ट्रपति डा.यादवलाई कतारका न्याय मन्त्री हसन वीन अब्दुल्ला अल घानिम, अमिरको कार्यालय अमिरी दिवानुको प्राटोकलको प्रनिनिधी, नेपालका लागि कतारका गैह्र आवासीय राजदुत र कतारका लागि नेपाली राजदूत सुर्यनाथ मिश्रले स्वागत गर्नु हुने छ ।
राष्ट्रपति डा.यादवलाई विमानस्थलस्थित अमिरी प्रोटोकल लंचमा लगेर अमिरी रिती रिवाज अनुसार सम्मान र सम्मानार्थ सलामी दिने कार्यक्रम रहेको नेपाली दूतावासले जनाएको छ । राष्ट्र प्रमुखको रुपमा नेपालको तर्फबाट यो पहिलो राजकीय भ्रमण हो ।
राष्ट्रपतिको भ्रमणको बेला नेपाल र कतारवीच पर्यटन र कानूनबारे दुई वटा संझौता हुने संभावना रहेको बुझिएको छ ।
भ्रमण दलमा राष्ट्रपतिकी छोरी अनिता यादव, भौतिक योजना तथा निर्माण मन्त्री हृदयश त्रिपाठी, प्रेस सल्लाहकार राजेन्द्र दाहाल, राष्ट्रपति कार्यालयका सचिब बामन प्रसाद न्यौपाने, परराष्ट्र मन्त्रालयका कार्यबाहक सचिब दुर्गा प्रसाद भट्टराई लगायत १५ सदस्सीय प्रतिनिधी मण्डल रहेको छ ।