सहिदले बगाएको रगतको मूल्य खेर जान नदिने प्रधानमन्त्रीको भनाइ

असोज २४ काठमाडौँ ।  प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गणतन्त्रको स्थापना गर्नको लागि सहिदले बगाएको रगतको मूल्य कुनै पनि हालतमा खेर जान नदिने बताउनु भएको छ । सरकारी निवास बालुवाटारमा सहिद, घाइते तथा बेपत्ता नागरिकका परिवारसँगको भेटमा प्रधानमन्त्री भटराईले सहिद तथा उनीहरुका परिवारलाई राज्यका तर्फबाट उचित राहतको व्यवस्था गर्ने प्रतिबद्वता जनाउँदै सहिद तथा बेपत्ता परिवारहरुको समस्या समाधान गर्न नसके प्रधानमन्त्रीको कुर्सीमा नबस्ने बताउनु भयो । भेटमा सहभागी राज्यद्वारा बेपत्ता योद्वा परिवार समाजका अध्यक्ष एकराज भण्डारीले राजनीतिक दलहरुबीच सहमति हुन नसक्दा  बेपत्ता खोजबिन आयोग र सत्य निरुपण आयोग बन्न नसकेको प्रधानमन्त्रीले जानकारी गराउनु भएको बताउनुभयो । 

प्रधानमन्त्री भटराईले द्वन्द्वका क्रममा मानव अधिकारको उल्लघन गर्नेहरुलाई कारबाही गर्न सरकार तयार रहेको आश्वानसन दिनु भएको छ । भेटमा घाइते योद्धा परिवार समाजकी भगवती प्रधानले द्वन्द्वका क्रममा घाइते भएका नागरिकलाई राज्यले उपेक्षा गरेकोभन्दै तत्काल उपचार र राहतको व्यवस्था गर्न माग गर्नुभयो । करिब २ सय जना सहिद, बेपत्ता तथा घाइते परिवारका आफन्त प्रधानमन्त्रीसँगको भेटमा सहभागी थिए ।


Leave a Reply