असोज २४ रौतहट । विकास बजेटमा भएको भ्रष्टाचार नियन्त्रणका लागी विभिन्न ८ सुत्रीय माग राखेर रौतहटका स्वतन्त्र सभासद बबन सिंह आज दोश्रो दिन पनि आमरण अनशन जारी राख्नुभएको छ । क्षेत्र नम्बर १ बाट मनोनित सभासदले पाएको संसदीय विकास कोषको रकम क्षेत्र नम्बर १ मै खर्च गरिनुपर्र्ने, बाग्मती नदीको बाँध निर्माणको कार्यमा अनियमितता गर्नेलाई कारवाही गरिनुपर्ने, बडर्वा, गंगापिपरा, राजपुर तुृलसी, पचरुखी गाविसको बजेटमा भइरहेको हिनामिना रोक्नुपर्ने लगायतका ८ सुत्रीय माग राख्दै स्वतन्त्र सभासद बबन सिंहले हिजोदेखि अनशन सुरु गर्नुभएको हो ।
जिल्लाको समस्याप्रति प्रमुख जिल्ला अधिकारी हरीराज पन्त उदासीन देखिएकाले यस्ता कार्य रोक्न प्रमुख जिल्ला अधिकारीले नै ध्यान दिनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटको मूल गेट बाहिर उहाँ अनशन बसिरहनुभएको छ ।