असोज २५ काठमाडौ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफूले भिन्न बाटो नलिएको भए कुनै देशमा काम गरिरहेको एनआरएन हुने संभावना औल्याउनु भएको छ । गैरआवासीय नेपाली संघ एनआरएनको पाँचौ विश्व सम्मेलनको बुधवार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्रीले भन्नुभयो भिन्न बाटो नलिएको भए अहिले म पनि एनआरएन हुन्थे, तपाईहरु जस्तै अहिले म प्रतिनिधिको रुपमा यो हलमा हुन्थे ।
प्रधानमन्त्रीले एनआरएनहरुको शरिर विदेशी भूमिमा भए पनि हृदय नेपालमै भएको भन्दै सोही कारण नेपालको विकासमा लगानी गर्न एनआरएनहरु नेपाल आएको र यसलाई सरकारले उच्च सम्मान गर्ने बताउनुभयो ।
प्रधानमन्त्री डा भट्टराईले सरकारले सन २०१२ /०१३ लाई आर्थिक लगानीको वर्ष बनाउने तयारी गरिरहेको भन्दै त्यसमा गैरआवासीय नेपालीहरुलाई मुख्य रुपमा समेटेर लैजाने पनि बताउनुभयो । उहाले भन्नुभयो "दीर्घकालीन आर्थिक विकासका काम थालेको छु, प्रधानमन्त्री कार्यालयमा आर्थिक सेल निर्माण गर्न लागिएको छ, छिटै त्यसको परिणाम देख्नुहुनेछ । "
प्रधानमन्त्रीले अहिले नेपालीको प्रतिब्यक्ति आय ४ सय डलर भन्दा कमको खराव अवस्थामा रहेको भन्दै त्यसलाई ३ हजार डलरमा पु¥याउन प्रतिवद्धता ब्यक्त समेत गर्नुभयो । उहाले जीडीपीको ४५ प्रतिसत लगानी गर्ने गरी ब्यवस्था गर्न लागेको समेत जानकारी दिनुभयो ।
बाहिरबाट हेर्दा नेपालमा लगानीको वातावरण नदेखिएपनि एनआरएनहरुले नेपालमा लगानी गरेर विदेशी लगानी भित्राउन सक्ने भन्दै शान्ति प्रकृया पुरा हुन लागेको अब सरकार र एनआरएन नेपालको सामाजिक आर्थिक रुपान्तरणको अभियानमा लाग्नु पर्नेमा उहाको जोड छ ।