असोज ३० इलाम बढ्दो सवारी साधन दुर्घटनालाई न्युनीकरण गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले सवारी साधन चेकजाँचलाई कडाईका साथ तीब्र बनाएको छ ।
भाडाका गाडीहरुले चाडबाड तथा अघिपछिको समयमा क्षमताभन्दा बढी यात्रुहरु बोक्ने गरेको कारण दुर्घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले चेकजाँचलाई तिव्रता दिएको हो ।
जिल्ला ट्राफिक कार्यालय इलामका दिपक खड्काका अनुसार इलामको राँकेदेखि कोल्बुङ्ग किटेनीसम्म ९३ किलोमिटर लामो सडक खण्डको पाँच ठाउँमा चेकजाँच गर्ने गरिएको छ । सशस्त्र प्रहरी, जनपथ प्रहरी र ट्राफिक प्रहरीको सहकार्यमा ती स्थानहरुमा चेकजाँच भइरहेको हो । प्रहरीको चेकजाँचका क्रममा एउटै सवारी साधन दैनिक तीन पटकसम्म पनि कारवाहीमा पर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ ।
यसैवीच मेची राजमार्गको विभिन्न सडक खण्ड भत्किएको कारण दुर्घटनाको जोखीम बढेको सवारी चालकहरुले बताएका छन् । राजमार्गको कतिपय सडक खण्ड निर्माणकै क्रममा प्राविधिक त्रुटि भएका कारण सवारी सञ्चालनमा समस्या छ ।
इलामको कोल्बुङ्ग किटेनी सडक खण्ड, गोदक बाह्र गोलाई, साखेजुङ्गको बन्चरे गोलाई र चमैताको भदौरे भन्ने स्थान सडक दुर्घटनाको बढि जोखीमयुक्त मानिन्छन् ।