इलामको पुवा मझुवास्थित महभीर भरना संकटमा पर्दै


बर्षेनी पानीको स्रोत घट्न थालेपछि इलामको पुवा मझुवास्थित महभीर भरना संकटमा पर्दै गएको छ । झण्डै एक सय फिट उचाईको महभीर झरना पुवामझुवा ७ र ८ नम्बर वडाको बीचमा रहेको छ । यसैको आसपासमा थप दुइ झरना समेत रहेका छन् ।

विगतमा झरनामा पानीको मात्रा धेरै भएपनि अहिले बर्षेनी पानी घट्दै गएर झरना नै सुक्ने संकेत देखिएको स्थानीय बताउँछन् । मेची राजमार्गको बाघखोर खण्डदेखि झण्डै दुइ किलोमिटर उत्तरमा अवस्थित महभीर झरनाको पानीको स्रोत हरेक बर्ष घट्दै गएपनि जिल्ला विकास समिति र पर्यटन क्षेत्रमा क्रियाशील संघसंस्थाले मुहान संरक्षणका लागि चासो नदिएको स्थानीयको गुनासो छ ।

महभीर झरना जिल्लाका पर्यटकीय क्षेत्रमध्ये एक हो । जलाधार क्षेत्रभन्दा बाहिरका बासिन्दाले ठूला पाइपहरुमार्फत पानी लगेर विभिन्न योजना सञ्चालन गरेपछि झरनामा पानीको मात्रा घटेको स्थानीय टेकमान राईले बताउनुभयो ।

स्थानीय शिक्षक सूर्यप्रसाद राई यो झरना गाउँको पर्यटकीयस्थल पनि हो भन्ने कुरा सर्वसाधारणले नबुझ्नु र बुझेकाले पनि संरक्षणका लागि पहल नगर्नु नै झरना सुक्नुको मुख्य कारण रहेको बताउनुहुन्छ ।अहिले झरनाको आसपासमा बस्ती विस्तार भएको छ । बस्ती विस्तारसँगै वन फडानी बढेको र जैविक विविधता जोगाउन स्थानीयमा चेत नखुल्नाले यस क्षेत्रको जैविक विविधतामा नै नकारात्मक असर पुगेको छ ।

महभीर झरनासँगै यसैको आसपासका गाउँ चिमालथुम्की, चैते लगायतका स्थानमा पानीको स्रोतहरु सुक्दै गएका छन् ।महभीर झरनासँगै यस आसपासका जैविक विविधता संरक्षण गर्न सके यस क्षेत्रमा समेत पर्यटक तान्न सकिने स्थानीय बताउँछन् ।

Leave a Reply