इलामका होटलमा सडेगलेका खानेकुरा


कार्तिक ३ इलाम  । इलाम सदरमुकामका होटलहरूमा म्याद गुज्रिएका तथा बासी सडेगलेका खानेकुरा अत्याधिक पाइएको छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागको सहयोगमा एक दर्जन भन्दा बढी होटलमा हिजो गरिएको अनुगमनका क्रममा यस्तो पाइएको हो ।

अनुगमन क्रममा गोरख होटल, शर्मा मिष्ठान भण्डारबाट अत्याधिक मात्रामा बासी सडेगलेका परिकार बरामद गरिएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक रमेश दहालले बताउनुभयो । जिल्ला प्रशासन तथा प्रहरीको सहयोगमा खाद्यले होटल बाहेक अन्य पसलमा समेत अनुगमन गरेको थियो ।

गोरख होटलमा बम्वैसन, जेरी, विभिन्न प्रकारका दुधबाट बनाइएका सडेगलेका मिठाई विक्रीका लागि राखिएको देखेपछि अनुगमन टोलीले बरामद गरि नष्ट गरेको छ भने केही नमुना परीक्षणका लागि सङ्कलन समेत गरेको छ । त्यहाँबाट कुराउनी, चार किलो खुवा, फ्रिजमा राखिएको दुध बरामद गरिएको छ । 

अनुगमनका क्रममा याँकी होटलमा म्याद नाघेका २५/३० वटा रक्सीका बोतल, स्नेहा होटलबाट विभिन्न किसिमका पेय पदार्थ बरामद गरेको जनाइएको छ ।

Leave a Reply