कार्तिक ७ इलाम । इलामको लक्ष्मीपुर-५ को अमलेभज्याङमा अपरान्ह तीनबजे भएको पिकअप भेन दुर्घटनामा चारजनाको ज्यान गएको छ भने एकदर्जन भन्दा बढी घाइते भएका छन् । दुर्घटनामा लक्ष्मीपुर-५ का भक्तबहादुर तामाङ, लक्ष्मीपुर-२ का घनश्याम आचार्य, चालक उत्तम तामाङको घटनास्थलमै ज्यान गएको बताईएको छ ।
मृतक एकजना (महिला)को नाम खुल्न सकेको छैन । झापाको खुदुनाबारीबाट इलामको लक्ष्मीपुरका लागि छुटेको ग १ ज ४४४५ नम्वरको पिकअप भेन दुर्घटनामा परेको हो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याईएको छ । मृतकको संख्या अझै बढ्ने स्थानीयको भनाई छ ।
यसैगरी मेची राजमार्ग अन्तरगत इलामको गोदक-४ मा दिउँसो साढे १ बजे भएको माईक्रोबस दुर्घटनामा १३ जना घाइते भएका छन । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । झापाबाट इलाम बजारका लागि छुटेको मे १ ज ४९२ नम्वरको माईक्रोबस गोदकमा दुर्घटना हुँदा विराटनगर-७ का सीताराम चौधरी, इलाम दानावारी-२ की धनकुमारी राई, चालक झापाका रूद्र कार्की र कृष्ण खनाल लगायत घाइते भएका हुन् । उनीहरूलाई उपचारका लागि विराटनगर, धरान तथा झापाका अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।