बाँझो र चुलाचुलीको बिचमा पर्ने रतुवा खोलामा झोलुङ्गे पुल निर्माण भएपछि गाउलेहरु हर्षित



कार्तिक ७ इलाम । इलामको चुलाचुली, बाँझो र महमाइका बासिन्दाहरुले बर्षौंपछि बर्षातको समयमा रतुवा र चान्जु खोलाका कारण हुने नाकाबन्दीबाट मुक्त भएका छन् ।बर्षातमा रतुवा र चान्जुमा आउने बाढीका कारण यी गाबिसका बिभिन्न वडाका बासिन्दाहरु बर्षेनी चार महिनाभन्दा बढी नाकाबन्दीमा पर्ने गरेकोमा यो बर्षबाट उनीहरु मुक्त भएका हुन् ।

चुरेको फेदीमा पर्ने चुलाचुली, महमाइ र बाँझो गाबिसका धेरै जसो भु-भागमा रतुवा र चान्जु खोलाले घेरेका कारण उनीहरु न इलामको सदरमुकाम जान सक्ने अवस्थामा रहेका थिए भने दश किलोमिटर नजिक रहेको झापाको दमकसमेत उनीहरुको लागि बिरानो बन्ने गरेको थियो ।

बाँझो २ र चुलाचुली ९ को बिचमा पर्ने रतुवा खोलामा करिब बाइस लाख रूपैंयाको लागतमा झोलुङ्गे पुल निर्माण भएपछि तीन वटा गाबिसका एक हजार चालीस घरधुरीका ५२०० सय सदस्य लाभान्वित भएका छन् ।
पुल निर्माण उपभोक्ता समितिका सचिब बर्त राईका अनुसार जिल्ला बिकास समिति, गाबिस र स्थानीयबासिको संयुक्त प्रयास र जनश्रमदानबाट यो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो ।
बाँझो  र चुलाचुली जोड्ने   रतुवा खोलाको   झोलुङ्गे पुल फोटो: पुर्बेली टाइम्स

पहाड र तराइको संगम स्थलको रुपमा रहेको चपेटीमा बनेको यो झोलुङ्गे पुलले यहाँ आन्तरीक पर्यटकसमेत आउन सक्ने र यहाँको पर्यटन प्रबर्द्घन हुने समेत बिश्वास लिइएको छ ।

९५.६ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण भएपछि यस क्षेत्रका बासिन्दाहरुमा हर्षको सीमा नरहेको भन्दै बर्षातमा पनि अब सहजरुपमा वारीपारी गर्न सकिने अवस्था आएको राईले बताउनु भयो ।चुलाचुलीको ९ नम्बर वडा, बाँझोको २ नम्बर वडा र महमाइको १ देखि ५ नम्बर सम्मका वडाले यस पुलबाट प्रत्यक्ष फाइदा लिने स्थानीयहरुले बताएका छन् ।

स्थानीय बलबहादुर राईका अनुसार बर्षातमा रतुवाको बाढी आँउदा वारीको मान्छे वारी नै र पारीको मान्छे पारी नै हुनुपर्ने भएकाले अत्यावश्यकीय सेवाबाट बन्चित हुनुपर्ने अवस्थाबाट मुक्त हुन पाइएको छ ।दुःखबिराम पर्दा र बिभिन्न काम लिएर सदरमुकाम तत्काल जानुपर्दा कुनै बिकल्प नभएको अवस्थामा पुल बनेपछि यो समस्याबाट मुक्त हुन पाइएको समेत उहाँले बताउनु भयो ।

बाँझो गाबिसका पूर्व अध्यक्ष किरण राईका अनुसार यहाँ पुल नहुँदा बर्षातको समयमा सुत्केरी महिला र तत्काल उपचार चाहिने बिरामीहरुको ज्यानैसम्म जाने गरेको थियो ।

Leave a Reply