कार्तिक ८ झापा । एमालेका सचिव शंकर पोखरेलले प्रमुख ठूला दलका कारण शान्ति प्रक्रियामा उल्लेख्य प्रगति हुन नसकेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी नेपालले आज झापाको दमकमा गरेको पत्रकार सम्मेलनमा पोखरेलले माओवादी र कांग्रेस दुवै शान्तिप्रक्रिया टुङ्गोमा प¥याएर संविधानसभाबाट समयमै संविधान लेख्ने मनसायमा नरहेको बताउनुभयो ।
माओवादी शान्तिप्रक्रिया आफूले भने जसरी नटुंगिए कार्यकर्तामा निराशा जाग्ने र कांग्रेसमा शान्तिप्रक्रिया टुंगिए आफ्नो अस्तित्व नै खतरामा पर्ने त्रासमा रहेको सचिव पोखरेलको भनाई थियो । आ–आफ्ना असान्दर्भिक अडान त्यागेर शान्तिप्रक्रिया र संविधान निर्माणमा गम्भीर र इमान्दार बन्न उहाँले दुई ठूला दललाई सुझाव दिनुभएको छ ।
त्यसै गरेर एमाले सचिव पोखरेलले राष्ट्रवादको राग अलाप्ने प्रधानमन्त्री बाबुराम भट्टराईले भारतलाई रिझाउन दूरगाकी महत्वको विवादास्पद ‘बिपा’ सम्झौतामा हस्ताक्षर गरेको आरोप लगाउनुभएको छ । उहाँले प्रधानमन्त्री भट्टराईलाई असफल बनाउन माओवादीकै नेताहरु लागेको उल्लेख गर्नुभएको छ ।