कार्तिक ८ इलाम । बडादशैं तथा दिपावलीको अवसरमा इलामको एक तप्पामा सञ्चालित खुल्ला नकआउट फूटबल प्रतियोगिताको उपाधि रेडस्टार इलामले हात पारेको छ ।स्थानीय सिंहदेवी उच्च माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाईनल खेलमा पी.एल.ए. रेडहर्ष इलामलाई एकका विरुद्ध तीन गोल गर्दै रेडस्टार इलाम उपाधी जितेको हो ।
खेलको पहिलो हाफको ४४ औँ मिनेटमा रेडस्टार इलामका सन्दिप मगरले पहिलो गोल गरी आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि दोश्रो हाफको ६१ औं मिनेटमा पी.एल.ए. रेडहर्ष इलामका राजीवसिंह खत्रीले आफ्नो टिमबाट गोल गरेर खेल बराबरीमा पुर्याएका थिए । खेलको ७६ औं मिनेटमा रेडस्टार इलामका दिपेश कार्कीले गोल गर्दै आफ्नो टिमलाई २-१ को अग्रता दिलाएका थिए । त्यसपछि फेरी खेलको ७८ औं मिनेटमा रेडस्टार इलामका सन्दिप मगरले अर्कौ गोल गरी आफ्नो टीमलाई उपाधी चुम्न सफल बनाएका थिए ।
त्यस्तै तेश्रो स्थानका लागि आजै भएको प्रतिष्पर्धामा न्यु स्टार फुँयतप्पालाई एकका विरुद्ध तीन गोल गर्दै युनाईटेड एकतप्पाले तेश्रो स्थान सुरक्षित गरेको थियो ।