कार्तिक ९ इलाम । पूर्वी पहाडी जिल्ला खोटाङ्ग र भोजपुरको सिमानामा रहेको ट्याम्के डाँडाको पर्यटन प्रबर्द्धनका लागि ट्याम्के महोत्सब हुने भएको छ ।आउँदो मङ्सिर ७ देखि १० गतेसम्म चार दिन हुने महोत्सवको उद्देश्य पर्यटकीय स्थल ट्याम्के डाँडाको प्रचार गर्नुका साथै खोटाङ्ग र भोजपुर जिल्लाका स्थानीय उत्पादनको पहिचान गर्नु रहेको महोत्सव प्रचार बिभाग प्रमुख सिताराम राईले जानकारी दिनु भयो ।
ट्याम्के स्याल्मे संरक्षण समितिको आयोजनामा हुने महोत्सवको प्रधानमन्त्री डा. बाबुराम भट्टराई र संस्कृति मन्त्री गोपाल किरातीले उद्घाटन गर्नुहुने बताइएको छ । महोत्सवमा स्थानिय पहिचान झल्काउने झाँकी प्रस्तुत हुनुका साथै राष्ट्रिय स्तरका कालाकारहरुले आफ्नो प्रस्तुती प्रस्तुत गर्ने प्रचार विभाग प्रमुख राईले बताउनु भयो ।
समुन्द्री सतहबाट ३२ सय मिटर अग्लो स्थानमा रहेको ट्याम्के एसियाकै सबैभन्दा अग्लो ३ सय ६५ मिटर अग्लो भ्यू टावर बन्दै गरेको स्थान हो । सो निर्माणाधिन टावरको प्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही महिना अगाडी सिलन्यास गर्नु भएको थियो ।