कूल तामाङ
कार्तिक ९ काठमाण्डौ । यमपाचकको तेस्रो दिन आज साँझ मुलुकभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिँदैछ ।बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज घरको सबैतिर सफासुग्घर गरी दैलो सँघार झ्याल ढोका कौसी अटाली भर् याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ ।
लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटाले पोतेर चामलको पिठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।गृहिणीहरु साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना पैसा धान चामल फलफूल रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्छन् । लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी छोरीहरुको पूजा गर्ने पनि चलन छ ।लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने विश्वास छ ।आज साँझ केटीहरु समूह बनाई घरघरमा भैलो खेल्न हिँड्छन् ।
यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान चामल पैसा र सेलरोटी दिने गरिन्छ ।सत्ययुगमा वामन अवतार विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बलिले भगवान्लाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गर्दै जुन घरमा यमपाचकमा दीपावली गरिन्छ त्यहाँ लक्ष्मीले सदा बास गरुन् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको धार्मिक विश्वास छ ।