कार्तिक ११ इलाम । सू्र्योदय दृष्यावलोकनका लागि नेपालकै उत्कृष्ट स्थान मानिएको पूर्वी अन्तुडाँडामा पर्यटक आवगमन बढेको छ । मौसममा सुधारसँगै असोजको अन्तिम सातादेखि झुल्केघाम हेर्न पर्यटक आउने क्रम बढेको हो ।अहिले दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटकले झुल्केघाम हेर्ने गरेका छन् । सडकलगायत भौतिक पू्र्वाधारको राम्रो विकास नभएकाले भने समस्या भएको छ। यहाँ आन्तरिक तथा बाहृय पर्यटक आउने गरेका छन्।
अन्तुडाँडामा रहेको भ्यू टावरवाट सूर्योदय साथै कञ्चनजङ्घा हिम शृङ्खला, भारतका मिरिक, खर्साङ, सिलिगुडीलगायतका शहरहरू साथै पूर्वाञ्चलका विभिन्न स्थान देख्न सकिन्छ।
वर्षौंदेखि झुल्केघामको आनन्द लिने इच्छा यहाँ आएपछि पूरा हुने गरेको पर्यटकहरूले बताएका छन्। मौसम खुलेकाले टाढाबाट आएका पर्यटकले धित मर्ने गरी झुल्केघामको आनन्द लिने गरेका छन्। मेची राजमार्गको फिक्कलबाट १५ किलोमिटर पूर्वको अन्तुडाँडामा उज्यालो नहुँदै झुल्केघामको आनन्द लिन दर्जन पर्यटक पुगिसकेका हुन्छन्। स्थानीयवासीले पर्यटककलाई मनोरञ्जन दिन स्थानीयले सक्दो प्रयास गरेको छ।नेपाल पर्यटन बोर्डले लमजुङको घलेगाउँ र स्याङ्जाको सिरुवारीपछि तेस्रो पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न झण्डै एक दशकदेखि काम थालेको छ।
स्थानीयवासीको उत्साहमा पर्यटन बोर्डले सहयोग पुर्याए पनि सडक, भ्यू टावर, विश्रामस्थल लगायतका पूर्वाधारको राम्रो व्यवस्था भने हुन सकेको छैन। यहाँको भ्यू टावर पुरानो भइसकेको छ। त्यसलाई पुनः निर्माण गर्न स्थानीयले बारम्बार माग गरिरहेको छ।
यहाँ पुग्ने पर्यटकलाई होम स्टेको व्यवस्था मिलाइएको छ। होम स्टेका लागि अन्तुडाँडा आसपासका ३० बढी घरमा पर्यटक राख्ने व्यवस्था मिलाइएको अन्तु पर्यटन विकास बोर्डका अध्यक्ष धनकुमार आलेले बताउनुभयो। ‘जति पर्यटक आए पनि अटाउने व्यवस्था मिलाएका छौँ, उहाँले भन्नुभयो, ‘अन्तुलाई पू्र्वकै उत्कृष्ट पर्यटन क्षेत्र बनाउने प्रयास गरिरहेका छौं।पर्यटक भित्र्याउन र सूर्योदयको प्रबर्द्धनका लागि यहाँ बारम्बार महोत्सवहरू हुने गरेका छन्। यहाँ सातौँ महोत्सव पनि सम्पन्न भइसकेको छ।
सू्र्योदयको दृष्यावलोकनका लागि नेपालकै उत्कृष्ट स्थान मानिएको अन्तु लेप्चा जातिको संस्कृति, कृषिबाट सुधारिएको जीवनशैली, व्यावसायिक फूल खेती र सीमापारी दार्जीलिङका झैं चिटिक्क परेका घरको आकर्षणले महत्वपूर्ण छ।
पर्यटकलाई खान र बस्ने व्यवस्थाका लागि पेइङगेष्ट -होमस्टेको व्यवस्था गरिएको छ। अन्तु र समालबुङका ३० बढी घरमा पर्यटकले ग्रामीण परिवारको आनन्द लिँदै बस्न सक्ने भएका अन्तु पर्यटन विकास बोर्डका राम घिमिरेले बताउनुभयो।
प्राचीन समयमा लाप्चा किप्पट रहेको यस क्षेत्रमा प्राचीन शासक लेप्चा जातिका ऐतिहासिक वस्तुहरू पनि पर्यटकीय आकर्षणका केन्द्र हुन्।लाप्चाका पुर्खाहरूले चलाएका युद्धकला सम्बन्धी सामग्री, भाँडाकुँडा, जातीय भाषामा लेखिएका धार्मिक पुस्तक र दस्तावेज लगायतका सामग्री अन्तुमा देख्न पाइन्छ।
मेची राजमार्गको फिक्कलदेखि कच्ची बाटोबाट सवारी चढेर अन्तु पुग्न सकिन्छ। चिया बगानको आनन्द लिँदै पैदल जान चाहनेलाई अन्तुडाँडा पुग्न तीन घण्टाको समय खर्चनुपर्ने हुन्छ।
