कार्तिक ११ काठमाडौँ । हिन्दूहरूको महान् चाड तिहारको अन्तिम दिन आज देशभरि परम्पराअनुसार दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाएका छन्। दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइहरू आज काठमाडौँको रानीपोखरीस्थित यमलेश्वर महादेवको मन्दिरमा पुगेर टीका लगाउने गर्छन् । उक्त मन्दिर प्रत्येक वर्ष भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।
यस्तै दिदीबहिनी नहुने दाजुभाइकी साझा दिदी अञ्जली मास्केले आजै काठमाण्डुको काष्ठमन्दिर परिसरमा भाइटीका लगाउँदै हुनुहुन्छ । ६८ वर्षीया मास्केले २०५५ सालदेखि सामूहिक भइटीका लगाउँदै आउनुभएको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज बिहान साढे १० बजेपछि कोटेश्वरमा रहेको भाइ शिव भट्टराईको घरमा गएर टीका लगाउने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।
