कार्तिक १२ काठमाडौँ । पार्टी केन्द्रिय समितिको बैठक नजीकिँदै गर्दा पार्टी उपाध्यक्ष एवं प्रधानमन्त्री डा.बाबुराम भट्टराईले वरिष्ठ उपाध्यक्ष मोहन वैद्यसँग भेटेर छलफल गर्नुभएको छ । भारत भ्रमणताका भएको वीप्पा सम्झौता, मधेशी मोर्चासँगको ४ बुँदे सम्झौता र कन्टेनरको साँचो सरकारलाई बुझाउने निर्णयबाट माओवादीको असन्तुष्ट समूहको रुपमा मोहन वैद्य पक्षधर आक्रोशित छ ।
केन्द्रिय समितिको बैठकमा सहज निर्णय गराउने पहलस्वरुप प्रधानमन्त्रीले वैद्यलाई उहाँकै निवास गोंगबुमा पुगेर भेटघाट गर्नुभएको हो । यो भेट प्रधानमन्त्रीका रुपमा नभै पार्टी उपाध्यक्षका हैसियतमा आन्तरिक विवाद मिलाउने प्रयासमा केन्द्रित रहेको भेटपछि नेताहरुले बताए । माओवादी केन्द्रिय समिति बैठक यही कात्तिक १७ गते बस्दैछ । नेताहरुले यो भेटलाई आपसी तिक्ततालाई कम गर्ने दिशामा केन्द्रित रहेको बताएका छन् ।
प्रधानमन्त्रीले शान्ति प्रक्रियाका सम्बन्धमा सहमतिका लागि एमाले र काङ्ग्रेससँगको छलफल गर्नुअगावै शान्ति प्रक्रियाका गतिविधिप्रति असन्तुष्ट समूहका नेता वैद्यसँग भेट्नुभएको हो । शान्ति प्रक्रियाको कामलाई तिहारलगत्तै शुरु गर्ने बताउनुभएका प्रधानमन्त्रीले यो प्रक्रियामा सक्रियता देखाउनुभएको हो ।
यस अघि उहाँले हिजो एमाले नेता माधवकुमार नेपालसँग भेटी शान्ति प्रक्रियाको कामलाई तीव्ररुपमा अगाडि बढाउने विषयमा छलफल गर्नुभएको थियो ।
