असोज २४ इलाम । इलामको फिक्कल ३ स्थित गैरिगाउँमा हरियो चिया प्रशोधन कारखानाको निर्माण कार्य शुरु भएको छ । स्थानिय बासिहरुको सक्रियतामा कारखानाको निर्माण कार्य शुरु भएको हो । ग्रामीण चिया उद्योग प्रालि नामाकारण गरिएको कारखाना निर्माणका लागि स्थानिय सात जनाले प्रतिव्यक्ति ५ देखि २५ लाख रुपैँया लगानी गरेर कारखानाको निर्माण शुरु गरेको प्रालिका प्रवन्ध निर्देशक देवकुमार दहालले बताउनुभयो । डेढ करोड रुपैयाँको लगानीमा निर्माण शुरु भएको कारखानाबाट आगामि चैत मसान्तबाट हरियो चिया पत्ति प्रशोधन गरिने जनाइएको छ ।
कारखानावाट दैनिक पाँच हजार किलो हरियो पत्ति प्रशोधन गर्ने पनि दहालले बताउनुभयो । गैरी गाउँमा चियापत्ति धेरै उत्पादन हुने भएपनि विक्रीका लागि किसानले फिक्कल, पञ्चकन्या, अन्तुका कारखानामा लैजानुपर्ने वाध्यता भएका कारण ग्रामीण क्षेत्रमै कारखानाको निर्माण गरिएको पनि दहालले बताउनुभयो । गैरी गाउँ क्षेत्रमा मात्र २ सय भन्दा वढि चिया कृषकहरु रहेको बताइएको छ । चिया प्रशोधन कारखाना निर्माण भएपछि गैरिगाउँ, कजनी, कट्टेवुङ्ग लगायतका किसानहरुले आफूहरुलाई सजिलो हुने बताएका छन् ।