असोज २७ ताप्लेजुङ। ताप्लेजुङ जिल्लाको एकमात्र सुकेटार विमानस्थल विस्तार गर्ने काममा ढिलाई भएकाले दश महिना देखि उडान अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् । नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन मेनेजर हेमन्त उप्रेतीका अनुसार दोहोरो धावन मार्ग बनाउने योजना अनुरुप विमानस्थल विस्तारको कार्य थालिएको र समयभित्र काम पुरा हुन नसक्दा उडान अवरुद्ध भएको हो ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तभित्र सिध्याउनु पर्ने भएपनि काम थाल्न नै ढिलाई भएको स्टेशन मेनेजर उप्रेतीको दावि छ । हाल छिटो भन्दा छिटो उडान सञ्चालन गर्नेगरी निर्माणको कामलाई तीव्रता दिइएको पनि उहाँले बताउनुभयो । २०६७ साल असोजमै कामको जिम्मा लिएको तर ठेकेदार कम्पनीले माघ अन्त्यबाट मात्र काम शुरु गरेकाले निर्माणमा ढिलाई भएको बताइएको छ ।
नेपाल सरकारको पाँच करोड ८४ लाखको लगानीमा लम्बाई सात सय मिटरबाट बढाएर एक हजार मिटर र चौडाई ८० देखि ९० मिटरमा विस्तार गर्न लागिएको उडड्यन प्राधिकरणले जनाएको छ । यता हवाई मार्ग अवरुद्ध भएपछि यस जिल्लामा हवाई मार्गबाट भित्रिने वाह्य तथा आन्तरिक पर्यटकलाई असर पुगेको छ । सरकार द्वारा घोषित नेपाल पर्यटन वर्ष सन् २०११ लाई समेत प्रभाव पारेको जानकारहरु बताउँछन् ।
निर्माणाधीन विमानस्थलको काम सम्पन्न भएपछि ३४ जनासम्म यात्रु क्षमताको विमान ताप्लेजुङदेखि काठमाण्डौसम्म उडान सञ्चालन हुने पनि प्राधिकरणले जनाएको छ । यसअघि विराटनगर देखि ताप्लेजुङ सुकेटार हप्तामा दुई पटकसम्म उडान भर्दै आएको थियो ।