असोज १४ झापा। २१ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा झापाको दमकमा एकसय बर्षमाथिका दुइ सहित ३ जनालाई सम्मान गरिएको गरिएको छ ।
आज दमकस्थित जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालले आफ्नो आठौं साधारण सभा तथा जेष्ठ नागरिक दिवसको अवसर पारेर दमक – १६ का १०५ बर्षीय मुगुलाल थारु, तोपगाछी ६ की १०४ बर्षीया तिलोत्तमा पौडेल र दमक-१५ का ९२ बर्षीय वीरमणी मिश्रलाई अभिनन्दन गरेको छ । जेष्ठ नागरिकहरुको दीर्घायुको कामना गर्दै उहाँहरुलाई दोसल्ला ओढाएर अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा दमकका साहित्यकार कर्ण कुमार श्रेष्ठद्वारा लिखित मुखाले पोथी नामक वाल कथा संग्रहको समेत लोकार्पण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका कार्यकारी अधिकारी पशुपतिराज खतिवडाले जेष्ठ नागरिकको सुरक्षाका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताएका थिए । प्रतिष्ठानका अध्यक्ष भवानी प्रसाद दहालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार संयोजक देवेन्द्र दहाल, मदन भण्डारी स्मृति प्रतिष्ठानका रुद्र तामाङ, गाविस राष्ट्रिय महासंघका केन्द्रीय सदस्य पदम पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा राई, धिमाल लगायत विभिन्न जातिका झाँकी, नृत्यहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रतिष्ठानको आर्थिक तथा सांगठनिक प्रतिवेदनहरु समेत प्रस्तुत गरेको कोषाध्यक्ष सिताराम खतिवडाले बताए ।