कार्तिक २४ इलाम । पश्चिमी इलामको गजुरमुखीस्थित प्रसिद्ध धार्मिक स्थल गजुरमुखी धाममा आजदेखि पुर्णिमा मेला सुरु भएको छ । मेलाको पहिलो दिन आज बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको निकै ठूलो भीड लागेको छ ।
धाम आसपासमा अस्थायी टहराहरु निर्माण गरी होटल सञ्चालन गरिएका छन् ।साथै त्यहाँ पसलहरु विस्तार गर्ने क्रम पनि बढिरहेको छ । त्यहाँ भएका सिमित होटलहरुमा बास बस्न नपाएकाहरुले पनि पराल तथा स्याउलाले छाएर छाप्रा निर्माण गरी बसेका छन् ।
मेलामा दादागिरी र झै-झगडा नहोस् भन्नका लागि सुरक्षा व्यवस्था पनि कडा बनाईएको मेला आयोजक समितिले जनाएको छ । पर्यटकीय र धार्मिक दृष्टिकोणले जिल्लाको महत्वपूर्ण स्थल मानिएको गजुरमुखीमा दर्शन गर्न आउने भक्तजन र मेला भर्न आउनेहरुका लागि स्थानीय होटलहरुमा खान र बस्नको लागि व्यवस्था मिलाइएको मेला आयोजक समितिका अध्यक्ष भीमबहादुर लिम्बुले जानाकारी दिनुभएको छ ।
इलाम सदरमुकामदेखि करिब ४० किलोमिटर पश्चिममा अवस्थित गजरमुखी धाममा दर्शन गर्नाले आफूले चिताएको पूरा हुने धार्मिक विश्वासले इलामसँगै पूर्वी नेपालको झापा, मोरङ्ग, सुनसरी, पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम, संखुवासभा, धनकुटाका तथा भारतको विभिन्न ठाउँहरुबाट समेत भक्तजनहरु आउने गरेका छन् ।
