कार्तिक २९ काठमाडौ । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले शान्ति र संविधानका लागि बाध्य भएर मन्त्रिपरिषद् ठूलो बनाउनु परेको बताउनुभएको छ । आफनै पार्टीभित्र सरकार बिघटनको माग आइरहेको भन्दै प्रधानमन्त्री भट्टराईले गठबन्धन सरकारका दलहरुलाई रिझाउन बाध्य भएर मन्त्रीपरिषद ठुलो बनाउनु परेको बताउनुभयो ।
बालुबाटारमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दे प्रधानमन्त्री भट्टराईले यही सरकारलाई टिकाएर शान्ति र संविधानको लक्ष्य पूरा गर्नु पर्ने भएकाले मन्त्रिमण्डल ठुलो बनाएको प्रष्ट पार्नुभयो । मन्त्रिमण्डल विस्तारको विषय २ महिनादेखि रोकेर राखेको भन्दै प्रधानमन्त्री भटटराइले ६ सय १ सभासदको तुलनामा मन्त्रिमण्डल ठुलो नभएर बरु सानो भएको दावी गर्नुभयो ।
भट्टराईले सातबुँदे सहमति कार्यान्वयन हुँदै जाँदा मंसिर १४ को आसपासमा आफ्नै नेतृत्वमा राष्ट्रिय सहमितको सरकार गठन हुने दाबी पनि गर्नु भयो ।
उहाँले काग्रेस र एमाले पनि आफ्नै नेतृत्वको सरकारमा आउने बताउनुभयो । ‘मंसिर १४को आसपासमा मेरै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्छ– भट्टराईले भन्नुभयो ‘शान्ति र संविधान नहुञ्जेल यो सरकार रहन्छ, संविधान बनेपछि आलोपालो हो ।’
दलहरुबीच सातबुँदे सहमति गराउनुमा प्रधानमन्त्रीका हैसियतमा आफ्नो पनि प्रत्यक्ष–परोक्ष योगदान रहेको भन्दै उहाँले त्यो ऐतिहासिक उपलब्धीको चर्चा नगरी ढुंगेल प्रकरण र मन्त्रिमण्डलको आकारका कारण आफ्नो आलोचना भएको बताउनुभयो । अन्तर्राष्ट्रिय शक्ति सन्तुलन मिलाउन नसके नेपालको शान्ति र संविधान अघि बढ्न नसक्ने ठोकुवा गदै उहाँले त्यस्तो नभए उनीहरुले प्रक्रिया भाडिदिने दावी गरे ।
उहाँले मधेसी मोर्चासँग गठबन्धन बलियो बनाएर एक्लै बढ्ने डरले काग्रेस र एमालेले मन्त्रिमण्डल विस्तार र सभासद् बालकृष्ण ढुंगेल प्रकरणलाई उचालेको आरोप लगाउनुभयो ।