मङ्सिर १० इलाम । किराँत मूलका सुनुवारहरुले परम्परादेखि गर्दै आएको कुलपूजा (छ्याँगु) हाल आएर संकटमा पर्दै गएको छ । सुनुवारी कुलका पूजारी/नाःसोको अभावमा छ्याँगु गर्न सुनुवारहरुले चाहेर पनि नसकिएको इलाम पुवामझुवा-३ का प्रबल सुनुवारले बताउनु भयो । उधौली र उभौलीमा रातभर झण्डै १५ घण्टा समय लगाएर सुनुवारहरुले छ्याँगु पूजा गर्दै आएका थिए ।
एकातिर यो परम्परामा समय र खर्च बढी लाग्ने र अर्कोतिर पूराना नाःसोहरुको अन्त्यसँगै सहजरुपमा नाःसो नपाइने भएकाले सुनुवारी समुदायमा छ्याँगु दिनदिनै लोप हुने अवस्थामा पुगेको सुनुवार सेवा समाज, इलामका सचिव पृथसिँह सुनुवारको भनाइ छ ।
यति भइकन पनि छ्याँगुकै मान्यताको पिदारी जस्तो बिकल्प यो समूदायमा विकसित भइरहेको स्थानीय भीमबहादुर सुनुवारले बताउनु भएको छ । पिदारी गर्दा बिहान बढीमा २ घण्टा समय र कम खर्च लाग्ने भएर पनि क्रमशः लोकप्रिय बन्दै गएको उहाँको भनाइ छ । यस जातिको धार्मिक परम्परामा चाँप, दुवारे, टोटलाजस्ता बृक्षको फूल तथा पातको अनिवार्य आवश्यक्ता पर्ने समाजले जनाएको छ । यस समूदायमा जन्तु काटमार नगर्ने परम्परा रही आएको छ ।